चुनाव लक्षित सुरक्षा सतर्कता: अत्तरिया बसपार्कमा कुकुर प्रयोग गरी सघन चेकजाँच
अत्तरिया: कैलालीको अत्तरिया बसपार्कमा आउँदै गरेको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश र इलाका प्रहरी कार्यालय मालाखेतीको आयोजनामा तालिमप्राप्त कुकुर प्रयोग गरी बसहरूको सघन चेकजाँच गरिएको हो।
प्रदेश प्रहरी कार्यालय धनगढीअन्तर्गत केनाइन शाखाबाट ल्याइएका तालिमप्राप्त कुकुरमार्फत लामो तथा छोटो दूरीमा सञ्चालन हुने बसहरूमा स्किनिङ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले मानिसबाट गरिने चेकजाँचको तुलनामा कुकुरद्वारा गरिने खोजतलास अझ प्रभावकारी हुने भएकाले यो विधि अपनाइएको स्पष्ट पारेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन विस्फोटक पदार्थ तथा लागुऔषधको ओसारपसार रोक्ने उद्देश्यले स्किनिङ अभियान सञ्चालन गरिएको हो। उनका अनुसार अत्तरिया बसपार्क हुँदै आवतजावत गर्ने सवारी साधनलाई लक्षित गरी यो अभियान हप्तामा कम्तीमा एक दिन, आवश्यकताअनुसार जुनसुकै समयमा पनि निरन्तर सञ्चालन गरिनेछ।
आज गरिएको स्किनिङका क्रममा एक दर्जनभन्दा बढी सवारी साधन चेकजाँच गरिए पनि कुनै पनि विस्फोटक पदार्थ वा लागुऔषधजन्य सामग्री फेला नपरेको प्रहरीले जनाएको छ। चुनाव नजिकिँदै जाँदा सुरक्षा सतर्कता अझ प्रभावकारी बनाइने प्रहरीको भनाइ छ।