सुदूरपश्चिमका अभिषेक जोशीको तनहुँ-१ मा उम्मेदवार, धार्मिक अजेन्डाले चुनावी बहस तात्यो
धनगढीः तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को चुनावी माहौल अहिले रोचक मोडमा पुगेको छ। नेपाली काँग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका भगवती न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेबीचको प्रतिस्पर्धा मात्रै होइन, पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार अभिषेक जोशी पनि चर्चाको केन्द्रमा आएका छन्।
माघ १६ गते शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा प्रयोगकर्ता दिलनिशानी मगरले गरेको एक टिप्पणीपछि अभिषेक जोशीको चर्चा झनै बढेको हो। उक्त टिप्पणीमा 'विदेशी अत्तर छर्किएर मगमग बास्ना आउनेहरूभन्दा स्वदेशी खरानी धसेर गन्हाउने जोगीहरू महान हुन्छन्। देशको विकास अक्सफोर्ड विश्वविद्यालयमा पढेको मान्छेले मात्त हैन, वेद र पुराण पढेको पण्डितले पनि गर्न सक्छन्,' भन्दै हिन्दु धर्म र संस्कृतिको पक्षमा मतदान गर्न आह्वान गरिएको थियो।
माओवादी निकट मानिने दिल निशानी मगरको उक्त टिप्पणीमा आइतबारसम्म २३ हजारभन्दा बढी लाइक, ३ हजार ६ सयभन्दा बढी कमेन्ट र १ हजार १ सयभन्दा बढी शेयर भइसकेको छ।
फेसबुकमा प्रयोग गरिएको ‘अक्सफोर्ड विश्वविद्यालयमा पढेको व्यक्ति’ भन्ने संकेत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेतर्फ लक्षित गरिएको सहजै अनुमान गर्न सकिन्छ। पछिल्लो समय रास्वपाका नेताहरूबाट सार्वजनिक भएका केही अभिव्यक्तिहरूलाई लिएर हिन्दु धर्ममाथि आक्रमण भइरहेको भन्ने धारणा बढ्दै गएको सन्दर्भमा अभिषेक जोशीलाई हिन्दु धर्मका अभियानकर्ताका रूपमा हेरिन थालिएको छ।
हिन्दु धर्मका अभियानकर्ता जोशी हालै चुनावी प्रचारका क्रममा देवघाट क्षेत्रमा पुगेका थिए। देवघाटका धर्मगुरुहरूले हिन्दु धर्मको संरक्षणका लागि चुनाव जित्नुपर्ने सुझाव दिँदै उनलाई आशीर्वादसमेत दिएका छन्। कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाटलाई हिन्दुहरूले आदिप्रयागका रूपमा मान्ने गर्छन्। यहाँ सयौं मठ–मन्दिर, आश्रम र गुरुकुल सञ्चालनमा छन्।
तनहुँ जिल्ला देवघाटजस्तो पवित्र देवभूमि, महर्षि वेदव्यास तथा आदिकवि भानुभक्त आचार्यको जन्मभूमि भएकाले यसको गरिमा जोगाउन आफू उम्मेदवार बनेको जोशीको भनाइ छ। 'हिन्दु विरोधीले तनहुँबाट चुनाव जित्न नहुने मान्यताका साथ म चुनावी मैदानमा आएको हुँ,' जोशीले सार्वजनिक रुपमै बताउँदै आएका छन्।
जोशीले केही नेताहरूले भाषणमा हिन्दुलाई पार्टी छोड्न भने पनि भोट माग्न मन्दिर धाउने गरेको भन्दै प्रश्न उठाएका छन्। 'भोट चाहिने बेला हिन्दुको मन्दिर चाहिने, हिन्दुको भोट चाहिने तर व्यवहार भने धर्मान्तरणतर्फ उन्मुख हुने?' भन्दै उनले धर्म निरपेक्षताको नाममा दोहोरो चरित्र देखाइएको आरोप लगाएका छन्।
८० प्रतिशत हिन्दु जनसंख्यालाई सचेत हुन आग्रह गर्दै जोशीले हिन्दु अधिराज्यको अवधारणा कुनै धर्मविरोधी अजेन्डा नभएको स्पष्ट पारे। हिन्दु, बौद्ध, किराँत र बोन सभ्यताको संवैधानिक सम्बोधन आफ्नो चाहना भएको भन्दै अन्य धर्मावलम्बीले पनि पूर्ण स्वतन्त्रतासाथ आस्था अभ्यास गर्न पाउने उनले बताए। 'कसैलाई विभेद गर्ने, अधिकार खोस्ने मेरो उद्देश्य होइन,' उनले स्पष्ट पारेका छन्।
राप्रपा तनहुँका निवर्तमान अध्यक्ष विनोद घर्तीले पछिल्लो समय हिन्दु धर्मविरोधी गतिविधि बढ्दै गएको दाबी गर्दै सनातन धर्मको रक्षाका लागि राप्रपाको हलो चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। 'हिन्दु राष्ट्रको एजेन्डा बोक्नेहरूको संख्या अघिल्लोभन्दा धेरै बढेको छ,' उनले भने।
तनहुँ–१ को चुनावी मैदानमा अब प्रतिस्पर्धा केवल काँग्रेस, एमाले, रास्वपा र नेकपाबीच मात्रै होइन् चुनावी प्रतिस्पर्धामा राप्रपासमेत उत्रिएको विश्लेषण गरिन थालेको छ। पुर्ख्यौली घर बैतडी भएर हाल कञ्चनपुरमा बस्दै आएका जोशीले तनहुँ-१ मा धर्म, संस्कृति र पहिचानको बहस सघन बनाएका छन्।