सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरी बलद्वारा कर्मचारी तथा परिवार लक्षित नयाँ कल्याणकारी कार्यक्रम घोषणा

२०८२ माघ १९, ०३:४४ खबर संवाददाता

काठमाडौं: मुलुकमा चरम द्वन्द्व चलिरहेको समयमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल २६औँ वर्षमा प्रवेश गरेको छ। हालै २५औँ रजत महोत्सव मनाएको सशस्त्र प्रहरी बलले यस अवसरमा कर्मचारी तथा उनका परिवारलाई लक्षित विभिन्न नयाँ कल्याणकारी कार्यक्रम सार्वजनिक गरेको छ।

सशस्त्रले अमर तथा शहीद कर्मचारीका परिवारका लागि सामाजिक सुरक्षा सुविधा, किरियापुत्री सेवा तथा द्वन्द्वकालमा घाइते वा अंगभंग भएका कर्मचारीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। अमर वा शहीद कर्मचारीका ७० वर्ष उमेर पूरा गरेका आमाबुवा मध्ये एक जनालाई वार्षिक १२ हजार रुपैयाँ सामाजिक सुरक्षा रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ।

यसैगरी, बहालवाला कर्मचारीलाई सहुलियत ब्याजदरमा उपलब्ध हुँदै आएको नगद ऋण सेवा अवधिका आधारमा वृद्धि गरिएको छ। अब सिनियर अधिकृतलाई अधिकतम १५ लाख, जुनियर अधिकृतलाई १२ लाख र बिल्लादार जवान तथा परिचरलाई १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ।

एपीएफ स्कुलमा कार्यरत शिक्षक–शिक्षिकालाई दिँदै आएको सहुलियत ब्याजदरको नगद ऋण तथा किस्ताबन्दीमा उपलब्ध गराइने इलेक्ट्रोनिक्स सामग्रीको दायरा पनि विस्तार गरिएको छ। साथै, एपीएफ अस्पतालमा सुविधासम्पन्न ‘पे क्याबिन’ सेवा सुरु गरिएको छ भने विशेष तालिम प्राप्त सशस्त्रका सन्ततीलाई शैक्षिक वृत्ति प्रदान गरिने व्यवस्था गरिएको छ।

‘स्पेशल टास्क फोर्स’ तालिममा वार्षिक सर्वोत्कृष्ट हुने एक कर्मचारीका कक्षा १ देखि १२ सम्म अध्ययनरत एक सन्ततिलाई एकपटकका लागि १२ हजार रुपैयाँ शैक्षिक प्रोत्साहन रकम उपलब्ध गराइनेछ।

सशस्त्रले बहालवाला तथा अवकाश प्राप्त कर्मचारी र उनका परिवारजनको निधन हुँदा काजकिरिया बस्न सहुलियतसहित सुविधा उपलब्ध गराउने उद्देश्यले किरियापुत्री सेवा पनि सुरु गर्ने भएको छ। यसअन्तर्गत काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित विष्णुमति–महादेव खोला संगमस्थल तारकेश्वर धाम परिसरमा रहेको किरियापुत्री भवनमा सम्बन्धित समितिसँग समन्वय गरी दुई कोठे संरचना निर्माण गरिनेछ।

चार पाङ्ग्रे सवारीसाधन खरिदमा दिइँदै आएको ऋण सुविधामा पनि वृद्धि गरिएको छ। यसअघि २० लाख रुपैयाँसम्म सीमित ऋण अब सवारीसाधनको मूल्यको ८० प्रतिशतसम्म उपलब्ध गराइनेछ। साथै प्रशिक्षकको पारिवारिक भ्रमण कोटा वृद्धि, विद्युतीय चार्जिङ स्टेशनको स्तरवृद्धि तथा नयाँ स्टेशन स्थापना कार्यक्रम पनि अघि सारिएको छ।

सशस्त्र प्रहरी बलले आउँदो वर्षदेखि ‘वर्ष अधिकृत’ र ‘वर्ष जेसीओएस’ पुरस्कारसमेत घोषणा गर्ने भएको छ। यसअघि ‘वर्ष जवान’ लाई मात्र पुरस्कार प्रदान गरिँदै आएको थियो। साथै द्वन्द्वकालमा घाइते तथा अपाङ्ग भएका १५ जना कर्मचारीलाई एकपटकका लागि प्रतिव्यक्ति १० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ।
 

कमेन्ट लोड गर्नुस