यसपटक कैलाली–५ ले कसलाई रोज्ला?
धनगढीः सुदूरपश्चिमको सबैभन्दा चासोका साथ हेरिने निर्वाचन क्षेत्रमध्ये कैलाली–५ एक हो। धनगढी उपमहानरपालिका पूरै र कैलारी गाउँपालिकाको दुई वडा रहेको यो निर्वाचन क्षेत्रका मतदाताले बुझेर मात्रै मतदान गर्दै आएको विश्लेषण गरिँदै आएको छ। प्रदेशको व्यापारिक केन्द्र तथा राजधानीसमेत रहेको यस क्षेत्रले हरेक निर्वाचनमा फरक नतिजा दिँदै आएको इतिहास छ। यही कारण फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कैलाली–५ को चुनावी माहोल थप तात्न थालेको छ।
यसपटक यहाँ १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तर मुख्य भिडन्त भने नेपाली काँग्रेसका नरनारायण शाह, एमालेका यज्ञराज ढुंगाना, नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आले र राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबहादुर चन्द बीच हुने अनुमान गरिएको छ।
यो क्षेत्रबाट २०६४ मा माओवादीकी लिलाकुमारी भण्डारी, २०७० मा काँग्रेसका शेरबहादुर देउवा, उपनिर्वाचनमा काँग्रेसकै पुष्करनाथ ओझा, २०७४ मा एमालेका नारदमुनि राना र २०७९ मा काँग्रेसका डिल्लीराज पन्त विजयी भएका छन्। यस्तै २०७९ को स्थानीय तहको निर्वाचनमा धनगढीको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले खसेको मतको ५१ प्रतिशत भोट हासिल गरेको क्षेत्र भएकाले यो पटको चुनावलाई चाँसोका साथ हेरिएको छ।
काँग्रेसका शाहलाई बलियो संगठनको भर
यसपटक काँग्रेसले संगठनभित्र स्थापित अनुहार नरनारायण शाहलाई उम्मेदवार बनाएको छ। दुई कार्यकाल जिल्ला सभापति भइसकेका मनु हाल प्रदेश महामन्त्री हुन्। उनले धनगढी शहीद गेटबाट शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घरदैलो अभियान सुरु गरेका छन्। शाहले सबै वडामा सम्पर्क कार्यालय खोलेर चुनावी अभियान थालेका छन्।
नेपाली काँग्रेस कैलालीका सचिव एवं जिल्ला निर्वाचन प्रचारप्रसार विभागका प्रमुख केशव मिश्रका अनुसार काँग्रेसका उम्मेदवार शाह र पार्टीको बलियो संगठन नै चुनाव जित्ने आधार हो। उनले नरनरायण शाह आफैंमा बलियो उम्मेदवार भएको र पार्टीको संगठन पनि कैलाली-५ मा सबैभन्दा बलियो रहेकाले चुनाव जित्ने दाबी गरेका छन्।
'हाम्रो उम्मेदवार आफैंमा बलियो हुनुहुन्छ, उहाँले पार्टी र यो क्षेत्रमा सबैभन्दा लामो समयसम्म काम गरेको अनुभव छ,' उनले भने, 'पार्टीको संगठनात्मक पकठ पनि राम्रो छ; पढेलेखेको, व्यवस्थापकीय क्षमता भएको उम्मेदवार काँग्रेसले अगाडि सारेकाले हामी चुनाव जित्नेमा ढुक्क छौँ।'
नेकपाका आलेको रणनीति यस्तो
डोटीबाट लगातार चुनाव जित्दै आएका प्रेमबहादुर आले कैलाली–५ बाट उम्मेदवार बनेपछि चुनाव थप रोचक बनेको छ। नयाँ क्षेत्रबाट उठेका कारण उनीमाथि ‘टुरिस्ट उम्मेदवार’को आरोप लागे पनि काँग्रेस र एमालेभित्रको आन्तरिक असन्तुष्टिलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा आले देखिन्छन्।
आलेले विकासका मुद्दा अगाडि सारेर मत माग्ने अभियान चलाएका छन्। उनले धनगढी विमानस्थल, गेटा मेडिकल विश्वविद्यालय र सेती अस्पतालको स्तरवृद्धिको मुद्दा अगाडि सारेका छन्। विकासका मुद्दा अगाडि सार्ने र काँग्रेस र एमालेसँग असन्तुष्ट रहेका मतदातालाई आफ्नो पक्षमा पार्दै चुनाव जित्ने रणनीति नेकपाले बनाएको देखिन्छ।
काँग्रेस र रास्वपासँग प्रतिस्पर्धा हुने एमालेको आँकलन
एमालेका उम्मेदवार यज्ञराज ढुंगाना पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएका छन्। जिल्ला अध्यक्षसमेत रहेका ढुंगानाका लागि पार्टीभित्रको विवाद चुनौती बनेको छ। अघिल्लो निर्वाचन जितेका नारदमुनि रानालाई टिकट नदिँदा एमालेभित्र असन्तोष देखिएको छ, जसको असर चुनावमा पर्न सक्ने आँकलन गरिएको छ।
तर उम्मेदवार ढुङ्गानाले भने पार्टीका कुनै पनि किसिमको विवाद नरहेको बताएका छन्। कैलाली-५ मा एमालेको संगठन मजबुत रहेकाले एमालेले चुनाव जित्ने उनको दाबी छ। उनले काँग्रेससँगै मुख्य प्रतिस्पर्धा हुने बताउँदै सँगसँगै रास्वपाले पनि आफूहरूसँग प्रतिस्पर्धा गर्ने सक्ने ढुङ्गानाको अनुमान छ।
सरप्राइज जितको खोजीमा रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी पनि यस क्षेत्रमा सरप्राइज जितको खोजीमा छ। अघिल्लो निर्वाचनमा उल्लेख्य मत पाएको रास्वपाले यसपटक आनन्दबहादुर चन्द लाई उम्मेदवार बनाएको छ। स्वास्थ्य अभियनकर्ताका रूपमा चिनिने चन्दको सामाजिक छवि मतदातामाझ कति प्रभावकारी हुन्छ भन्ने चासो छ।
चन्दले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न मत मागिरहेको बताएका छन्। उनले रास्वपा नयाँ पार्टी भएकाले देशैभर पार्टीको पक्षमा लहर चलेकाले कैलाली-५ मा पनि जित निकाल्ने बताएका छन्। उनले पनि घरदैलो गर्दै मतदातासँग अन्तरक्रिया गरिरहेको बताएका छन्।
यो पटक कैलाली–५ मा जित कसैका लागि सुरक्षित छैन। मतदाताको मनोविज्ञान, उम्मेदवारको छवि, दलभित्रको एकता र स्थानीय मुद्दाले यसपटकको नतिजा तय गर्नेछ। अब सबैको नजर एउटै प्रश्नमा अडिएको छ; यसपटक कैलाली–५ ले कसलाई रोज्ला?