सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने प्रेमबहादुर आलको प्रतिबद्धता

२०८२ माघ १९, ०१:२७ खबर संवाददाता

धनगढी: नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार प्रेमबहादुर आलले धनगढी विमानस्थललाई कुनै पनि हालतमा क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन्।

धनगढी उपमहानगरपालिका–१ मा चुनावि प्रचारको क्रममा आलले धनगढी क्षेत्रीय विमानस्थल बनेपछि आपतकालीन अवस्थामा सिधै अन्तर्राष्ट्रिय उडान सम्भव हुने बताए। क्षेत्रीय विमानस्थलले पर्यटन प्रवर्धनमा ठूलो योगदान पुर्‍याउने र विदेशी पर्यटकलाई सिधै धनगढी ल्याउन सहयोग पुग्ने उनको भनाइ थियो। उनले विमानस्थल स्तरोन्नतिलाई वर्तमान समयको आवश्यकता भएको उल्लेख गरे।

यसैगरी, आलले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिमा विशेष जोड दिने बताएका छन्। अस्पताललाई अत्याधुनिक बनाउने उद्देश्यसहित आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले हालसम्म अपेक्षित स्तरको विकास हुन नसकेको बताए।

पूर्वमन्त्रीसमेत रहेका आलले गेटा मेडिकल कलेजलाई कम्तीमा पाँच सय शय्याको स्वीकृति दिलाई एमबीबीएस अध्ययन हुने गरी अगाडि बढाइने प्रतिबद्धता पनि जनाएका छन्। विगतमा गरेका कामका कारण डोटीबाट लगातार तीन पटक निर्वाचन जितेको उल्लेख गर्दै यसपटक पनि कैलाली क्षेत्र नं. ५ का मतदाताको साथ पाउने विश्वास व्यक्त गरे।

आफूले बोलेका कुरा कार्यान्वयन गर्दै आएको दाबी गर्दै आलले मतदातालाई आफ्नो विगतको काम मूल्यांकन गरेर मतदान गर्न आग्रह गरे। हाल उनले कैलाली क्षेत्र नं. ५ मा निर्वाचन गतिविधि तीव्र बनाउँदै सबै वडामा निर्वाचन परिचालन सचिवालय स्थापना र तयारी बैठकहरू लगभग सम्पन्न गरिसकेका छन्।

डोटीबाट पटक–पटक निर्वाचित भएका आल आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका हुन्। उनले २०७० सालको संविधानसभा, २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा डोटीबाट जित हासिल गरेका थिए। नागरिक उड्डयन, संस्कृति तथा पर्यटन मन्त्री हुँदा धनगढी विमानस्थलका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय भए पनि कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको छ।
 

कमेन्ट लोड गर्नुस