सबैले पार्टी रोजे, मैले जनता रोजेँः मेयर गोपाल हमाल
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अरूले पार्टी रोज्दा आफूले जनतालाई रोजेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक धारणा सार्वजनिक गर्दै ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ’ भन्ने सन्देश फेसबुकमा लेखेका हुन्।
स्वतन्त्र उम्मेदवारका रूपमा स्थानीय तह निर्वाचन जितेका चर्चित तीन मेयरमध्ये दुई जनाले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन साह राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेताका रूपमा झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी मैदानमा छन् भने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रम संस्कृति पार्टी गठन गरी सुनसरी क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका छन्।
तर मेयर हमाल भने आफूलाई धनगढीका जनताले पाँच वर्षका लागि मेयर पदको म्यान्डेट दिएको उल्लेख गर्दै सोही जिम्मेवारीमा प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै आएका छन्। उनले जनताको विश्वास र अपेक्षालाई प्राथमिकतामा राखेर कार्यकाल पूरा गर्ने संकेत गरेका छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा धनगढीकै मेयर पदमा स्वतन्त्र उम्मेदवार बनेका हमाल नेपाली कांग्रेसका नृपबहादुर वडसँग २ हजार ७०० मतान्तरले पराजित भएका थिए। तर २०७९ सालको स्थानीय तह निर्वाचनमा भने उनले उनै वडलाई पराजित गर्दै मेयर पदमा विजयी हुन सफल भए।
२०७९ को निर्वाचनमा खसेको कुल ६३ हजार ७१५ मतमध्ये हमालले २६ हजार ८६५ मत प्राप्त गरे। उनका निकटतम् प्रतिस्पर्धी नृपबहादुर वडले १४ हजार ८१७ मत ल्याएका थिए भने तेस्रो स्थानमा रहेका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरेका थिए। हमालले खसेको मतको झण्डै ५१ प्रतिशत मत पाएका हुन्। उनले जनताले दिएको जिम्मेवारी इमानदार भएर पूरा गर्ने बताउँदै आएका छन्।