सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–४ मा एमालेको काँग्रेससँग मुख्य प्रतिस्पर्धा हुने भट्टको दाबी

२०८२ माघ १८, १२:५८ खबर संवाददाता

धनगढीः प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।

अत्तरिया–धनगढी रोडमा रहेको कार्यालयको उद्घाटन एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार लेखराज भट्टले गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै भट्टले कैलाली–४ मा मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेससँग हुने स्पष्ट पारे पनि अन्य प्रतिस्पर्धीलाई कमजोर ठान्न नहुने धारणा व्यक्त गरे।

उनले आफ्नो उम्मेदवारी केवल एक क्षेत्रमै सीमित नरहने र त्यसको प्रभाव समग्र सुदूरपश्चिमको राजनीतिक भविष्यसँग जोडिएको दाबी गरे। यस निर्वाचनमार्फत सुदूरपश्चिममा एमालेको निर्णायक उपस्थिति सुनिश्चित हुने उल्लेख गर्दै उनले प्रदेशभर पार्टीले १२ सिट जित्ने आत्मविश्वाससमेत व्यक्त गरे।

कार्यक्रममा समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिशंकर योगी, नवनिर्वाचित राष्ट्रियसभा सदस्य लिला भण्डारी, सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक, सन्तोष शर्मा लगायतका नेताहरूको सहभागिता रहेको थियो।

क्षेत्रीय सम्पर्क कार्यालय सञ्चालनमा आएसँगै संगठन विस्तार, मतदाता समन्वय तथा प्रचार–प्रसारलाई थप व्यवस्थित र प्रभावकारी बनाइने एमालेले जनाएको छ। कैलाली–४ मा एमालेले प्रतिनिधिसभा उम्मेदवारका रूपमा लेखराज भट्टलाई अघि सारेको छ।

यसैबीच, केन्द्रीय सदस्य सन्तोष शर्माको संयोजकत्वमा मुख्य निर्वाचन परिचालन समिति गठन गरिएको छ। समितिको उपसचिवमा भागिरथी बिष्ट र सचिवमा गणेश साउँद चयन भएका छन्।

कमेन्ट लोड गर्नुस