कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ
कञ्चनपुर: कञ्चनपुर जिल्लामा प्रहरीले लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई अलग–अलग स्थानबाट नियन्त्रणमा लिएको छ।
हिजो साँझ करिब ५:०० बजे गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी तथा अस्थायी प्रहरी बिट नौलाखेत, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भिमदत्त नगरपालिका–१० तिल्केनी बस्ने वर्ष ३२ का खगेन्द्र साउँदको घरको कोठामा खानतलासी गरेको थियो। सो क्रममा साउँदको साथबाट ५४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र १ थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।
उक्त स्थानबाट साउँदसँगै बस्दै आएका भिमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने वर्ष २८ का उज्जल बोहरालाई समेत नियन्त्रणमा लिइएको हो।
यसैगरी, सोही दिन साँझ ७:३० बजे जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका–११ स्थित होल्डिङ सेन्टर ७ नम्बर पिल्लर क्षेत्रमा शंका लागी चेकजाँच गर्दा भिमदत्त नगरपालिका–३ भाषी बस्ने वर्ष ४६ का जीवन शर्माको साथबाट १ ग्राम ९३ मिलिग्राम खैरो हेरोइन (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।