सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

२०८२ माघ १७, ०४:४८ खबर संवाददाता

काठमाडौं: नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ माघ १६ गते काठमाडौंमा सुरु भएको छ। उद्घाटन समारोह चाबहिलस्थित चलचित्र विकास बोर्डमा भएको थियो, जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक मण्डलका सदस्य, विभिन्न देशका प्रतिनिधि र चलचित्रकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहमा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी।सी।, राष्ट्रिय निर्णायक मण्डलबाट अभिनेत्री–निर्देशक दीपाश्री निरौला, चलचित्र लेखक–निर्देशक रमेश बुढाथोकी र निर्माता–छायाँकार रविन आचार्य उपस्थित थिए। अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा बेलायतकी निर्माता एड्रिना जुली कुलिग र अर्जेन्टिनाका निर्देशक तथा चिकित्सक डा। जर्ज गुइलेर्मो क्याराभोत्ता सहभागी थिए।

फ्रान्स, भारत, बंगलादेश, लिथुआनिया, जर्मनी, अमेरिका, अस्ट्रेलिया र इजरायललगायत विभिन्न देशबाट आएका ८ अन्तर्राष्ट्रिय प्रतिनिधिलाई नेपाली सांस्कृतिक झल्किने ढाका टोपी र खादा ओढाएर स्वागत गरिएको थियो। उद्घाटन समारोहमा सांस्कृतिक नृत्य, कला प्रस्तुति र छनोट चलचित्रको विशेष स्क्रिनिङ पनि गरिएको थियो।

माघ १८ गतेसम्म सञ्चालन हुने यस महोत्सव चाबहिलस्थित चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना हुनेछ। महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन भइरहेका छन्। लघुचलचित्र, कथानक, वृत्तचित्र, एनिमेटेड चलचित्र साथै महिला, बालबालिका, मानवअधिकार र सांस्कृतिक विषयवस्तुका चलचित्रहरू समावेश छन्।

महोत्सवका निर्देशक सन्तोष सुवेदीका अनुसार, “तीन मिनेटदेखि साढे दुई घण्टासम्म अवधिका चलचित्रहरू महोत्सवका लागि छनोट भएका छन्।” महोत्सवको समापन समारोह नेपाल पुलिस क्लबमा हुनेछ, जहाँ उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री र छायाँकारहरूलाई अवार्ड र विशेष सम्मान प्रदान गरिनेछ।


 

कमेन्ट लोड गर्नुस