सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएरै छाड्छु : नेता आले

२०८२ माघ १७, ०४:३४ खबर संवाददाता

धनगढी: नेपाली कम्युनिष्ट पार्टीका नेता एवं कैलाली क्षेत्र नं. ५ का उम्मेदवार प्रेमबहादुर आलले धनगढी विमानस्थललाई कुनै पनि हालतमा क्षेत्रीय विमानस्थल बनाएर छाड्ने बताएका छन् । शुक्रबार धनगढी उपमहानगरपालिका– १ को निर्वाचन परिचालन सचिवालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘यो क्षेत्रीय विमानस्थल बन्यो भने कुनै समस्या पर्दा अन्य देशमा सिधै उडान भर्न सकिन्छ । यसले पर्यटन प्रवर्धनमा पनि ठूलो टेवा पु¥याउँछ । विदेशी पर्यटक यहाँ सिधै आउन सक्छन् । यसलाई अगाडि बढाउनु आजको आवश्यकता हो ।’

त्यस्तै,उनले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिमा आफूले जोड दिने बताए । उनले भने ‘सेती प्रादेशिक अस्पतालको स्तरोन्नति अझै हुन सकेको छैन् । यसलाई अत्याधुनिक स्तरोन्नतिका लागि लाग्ने छु ।’

पूर्वमन्त्री समेत रहेका आलेले गेटा मेडिकल कलेजलाई कम्तीमा ५ सय बेडको स्वीकृति गराएर एमबीबीएस पढाइ हुने गरि अगाडि बढाउनले प्रतिवद्धता व्यक्त गरे । बिगतमा राम्रो काम गरेकै कारण डोटीबाट लगातार तीन पटक निर्वाचन जितेको बताउँदै यस पटक कैलाली ५ का जनताको साथ पाउने विश्वास व्यक्त गरे ।

बिगतमा आफूले बोलेका कुराहरु पूरा गर्दै आएको बताउँदै उनले भने ‘मैले बोलेका कुरा गर्छु कि गर्दैन भनेर बुझेर चुनावमा लाग्नु होला ।’ आलेले कैलाली क्षेत्र नं. ५ मा आफ्ना चुनावी गतिविधिलाई तीब्र बनाउदै लगेका छन् । निर्वाचन परिचालन सचिवालय स्थापना तथा तयारी बैठक लगभग सम्पन्न गरिसकेका छन् ।

डोटीबाट पटकपटक निर्वाचन जितेका आले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली झरेका हुन । आलेले डोटीबाट २०७० सालको संविधान सभा, ०७४ सालको प्रतिनिधि सभा सदस्य र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जित हासिल गरेका थिए ।

कमेन्ट लोड गर्नुस