सुदूर नेपाललाई विश्वसँग जोड्दै

बदलिएको कांग्रेस देश बदल्ने सङ्कल्पमा अघि बढेको: सभापति गगनकुमार थापा

२०८२ माघ १७, ०२:५६ खबर संवाददाता

काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अघि बढेको बताए।

कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहमा सभापति थापाले कांग्रेस समयक्रमसँगै नयाँ काम, सोच र सङ्कल्पका साथ अघि बढेको र पार्टीभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको उल्लेख गरे।

भविष्यमा टिकटका लागि नेताको घरमा पुग्ने प्रवृत्तिको अन्त्य गर्दै कार्यकर्तालाई सशक्त बनाइने योजना रहेको उनले बताए। लोकतन्त्र र सामाजिक न्यायको क्षेत्रमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने पनि स्पष्ट भयो।

सभापति थापाले आम नागरिकको चाहना सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनुपर्नेमा जोड दिए। विशेष महाधिवेशनले पार्टीभित्र गुट र भागबण्डाको राजनीतिलाई अन्त्य गरेको र युवाहरूको आवाज सुनेर अघि बढ्ने कुरा पनि उल्लेख भयो। कांग्रेससँग सुधारको एजेण्डा र सबैलाई जोड्ने शक्ति रहेको स्पष्ट भयो।

थापाले युवालाई देशभित्रै रोजगारीका अवसर दिने लक्ष्यका साथ अघि बढ्ने र पार्टीभित्र आफूलाई वर्तमान उचाइमा पुर्‍याउन काठमाडौँ क्षेत्र नं ४ का कार्यकर्ता र मतदाताको भूमिका महत्वपूर्ण रहेको बताए।

“मलाई तपाईँहरूले दिएको विश्वास जीवनभर तिर्न सक्दिन। दुःखको बेलाका साथी र अभिभावक यही मतदाताहरू हुन्। नेपाली कांग्रेस र अन्य पार्टीमा रहेर दिएको समर्थनले म यस क्षेत्रबाट तीनपटक निर्वाचित भएको छु, यसको श्रेय आम क्षेत्र नं ४ वासीलाई जान्छ,” सभापति थापाले भने।

थापाले मधेसलाई काठमाडौँसँग जोड्न र मधेसको मुद्दा बुझ्नका लागि सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका छन्।

काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार सचिन तिमल्सिनाले क्षेत्रको विकासका लागि निरन्तर लाग्ने र जेनजी आन्दोलनपछि बदलिएको कांग्रेसले उम्मेदवार बनाएकोमा विश्वास कायम रहेको बताए। उनले जितका लागि आम क्षेत्र नं ४ वासीको साथ र सहयोग अपेक्षाको कुरा पनि राखे।


 

कमेन्ट लोड गर्नुस