सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा नसर्ने रोग पहिचानका लागि एक महिने स्क्रिनिङ अभियान

२०८२ माघ १७, ०१:४० खबर संवाददाता

कञ्चनपुर: नसर्ने रोगको समयमै पहिचान गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय कञ्चनपुरले जिल्लाभर स्क्रिनिङ कार्यक्रम सञ्चालन गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय मातहत रहेको स्वास्थ्य कार्यालयले विभिन्न स्थानमा स्वास्थ्य क्याम्प सञ्चालन गरी रोग पहिचानको कार्य अघि बढाएको हो।

स्वास्थ्य कार्यालय कञ्चनपुरका नसर्ने रोग सम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार उच्च रक्तचाप, मधुमेह, मृगौला रोग लगायतका नसर्ने रोगको पहिचानका लागि स्वास्थ्य परीक्षण गरिँदैछ। किट प्रयोग गरी रगत परीक्षणका माध्यमबाट मधुमेह, रक्तचापसहितका रोगको पहिचान भइरहेको उनले जानकारी दिए।

स्वास्थ्य परीक्षणका क्रममा सामान्य प्रकृतिका समस्या देखिएका व्यक्तिलाई परामर्श प्रदान गरिँदै आएको छ भने मध्यम तथा जटिल अवस्थाका बिरामीलाई थप उपचारका लागि आवश्यक सुझाव र सिफारिस गरिएको छ।

जिल्लाभर एक महिने अभियान सञ्चालन गरेर रोगको अवस्थाको यथार्थ तथ्यांक सङ्कलन गरी त्यसअनुसार आगामी कार्यक्रम तय गर्न सरकारलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैक्रममा महेन्द्रनगरमा एकै दिन आयोजना गरिएको एकीकृत निःशुल्क स्वास्थ्य क्याम्पमा ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा सबैभन्दा बढी उच्च रक्तचापका बिरामी फेला परेका छन्।

स्वास्थ्य परीक्षणबाट मधुमेह, मोटोपन तथा २५ जनामा प्रेषण ९रेफरल० आवश्यक पर्ने अवस्था पहिचान गरिएको छ। कुल परीक्षणमध्ये करिब ३० प्रतिशतमा उच्च रक्तचाप देखिएको छ। यसले पछिल्ला दिनहरूमा उच्च रक्तचापका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको तथ्य उजागर गरेको छ।


 

कमेन्ट लोड गर्नुस