कैलाली–२ : प्रतिनिधि सभा निर्वाचनमा नयाँ अनुहारका उम्मेदवारहरू मैदानमा
घोडाघोडी: फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली–२ क्षेत्रमा १६ वटा राजनीतिक दलबाट उम्मेदवार चुनावी मैदानमा रहेका छन्। यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालबीच हुने बताइएको छ। यस पटक मुख्य प्रतिस्पर्धी दलका सबै उम्मेदवार यहाँ नयाँ अनुहार रहेको जानकारी दिइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केपी खनाललाई यस क्षेत्रका लागि कान्छा र नयाँ अनुहारका रूपमा हेरिएको बताइएको छ। खनालले सरसफाइ अभियन्ता तथा देशभरि सरसफाइ अभियान चलाउने अनुभव भएको उल्लेख गर्दै नयाँ पुस्ताले देश बनाउनु पर्ने उद्देश्यका साथ चुनावी अभियान चलाएको जानकारी दिएका छन्। उनले वातावरणीय फोहोरभन्दा बढी राजनीतिक फोहोर रहेको भन्दै देशलाई निकास दिन आफ्नो उम्मेदवारी रहेको बताएका छन्। खनालले ‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ मूल नारासहित काठमाडौंलगायत देशभर सरसफाइ अभियान चलाएको उल्लेख गरेका छन्।
नेकपा (एमाले) का उम्मेदवार सूर्यबहादुर थापा २०७४ सालमा जिल्ला समन्यव समिति कैलालीको प्रमुखमा निर्वाचित भएको जानकारी दिएका छन्। हाल पार्टीको प्रदेश समितिको सचिवालय सदस्य रहेका थापाले पाँच वर्षमा पाँच हजार जनालाई रोजगारी दिने योजना रहेको बताएका छन्। उनी चिसापानी–राजकाँडा केबुलकारका अभियन्ता तथा लगानीकर्ता समेत भएको र सुदूरपश्चिम प्रदेशमा केबुलकार सञ्चालनमा ल्याउन आफ्नो ठूलो योगदान रहेको बताइएको छ।
नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँर क्षेत्र नम्बर २ का लागि नयाँ अनुहार भएको उल्लेख गरिएको छ। २०५६ सालदेखि राजनीतिमा सक्रिय रहेका स्वाँर हाल नेपाल टे«ड युनियन कांग्रेसका विज्ञ सल्लाहकार रहेको जानकारी दिएका छन्। आफ्नो उम्मेदवारी जनताका समस्या समाधानका लागि रहेको उनले बताएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नन्दबहादुर साउद (राजेन्द्र) पनि उक्त क्षेत्रमा पहिलो पटक प्रतिनिधि सभा चुनावमा उम्मेदवार रहेको जानकारी दिएका छन्। साउदले राष्ट्रिय मुद्दालाई बलियो बनाउने, अग्रगमनविरुद्ध लाग्ने र आफ्ना क्षेत्रका अधुरा योजनालाई पूर्णता दिने उद्देश्यले उम्मेदवार बनेको बताएका छन्।
नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार पतिराम चौधरी पनि क्षेत्रका लागि नयाँ अनुहार रहेको बताइएको छ। सामाजिक क्षेत्रमा दुई दशक काम गरेका चौधरीले आफ्नो क्षेत्रको समग्र विकासका लागि उम्मेदवार बनेको जानकारी दिएका छन्।
कैलाली–२ क्षेत्र मोहन्याल गाउँपालिका, लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका र जानकी गाउँपालिका अन्तर्गत पर्दछ। यहाँ एक लाख सात हजार ७५५ जना मतदाता रहेका छन्, जसमा ५२ हजार ६६९ पुरुष र ५५ हजार ८६ महिला मतदाता रहेका जानकारी दिइएको छ।