सुदूर नेपाललाई विश्वसँग जोड्दै

नृत्य नाटक ‘मोक्षदा’ भारतमा प्रस्तुत हुँदै

२०८२ माघ १६, १२:३५ रासस


काठमाडौँः
 
            म सुन्दर हुन चाहन्न,
            मेरो जन्म कसैको सेवाको लागि होइन,
            म भोग्या वस्तु होइन।।।।
 

नृत्य नाटकमार्फत यिनै शब्दहरू दोहोर्याउँदै कलाकार सुम्नीमा साम्पाङ, ग्लोरी थापा, कृपा बज्राचार्य, मनिषा बस्नेत र रोज महर्जन पालैपालो मञ्च छोड्दै जान्छन्। करिब एक घण्टा निरन्तर नृत्य नाट्य प्रस्तुत गरेपछि दर्शकमाझ उनीहरूले गरेको यो संवाद मर्म स्पर्शी लाग्छ। दर्शक भावुक हुनुका साथै नारी अस्तित्वबारे गम्भीर भएर सोच्न बाध्य हुन्छन्। 

नक्सालस्थित कान्तिपुर थिएटरमा बिहीबार नारीवादको दरिलो प्रस्तुति रहेको नृत्य नाटक ‘मोक्षदा’ प्रस्तुत गरिएको थियो। नम्रता केसीले निर्देशन गरेको उक्त नाटकलाई भारतको नयाँ दिल्ली र पटनामा हुन लागेको ‘भारत रङ महोत्सव’मा प्रस्तुत गरिँदैछ। प्रस्तुतिका लागि केसीसहितको नृत्य समूह भारत प्रस्थान गरिसकेको छ। बिहीबार भने दर्शकलाई आफूले भारतमा देखाउन लागेको नृत्य नाटकलाई प्रदर्शन गरेर दर्शकको सुझाव लिइएको थियो। 

'दर्शकले दिएको सुझाव लिएर हामी भारत जाँदैछौँ, त्यहाँ झनै राम्रो प्रस्तुति दिनेछाँ', उनले भनिन्,'नृत्यमार्फत परम्पराको नाममा, संस्कार र संस्कृतिको नाममा, सम्बन्धको नाममा महिलाको स्वतन्त्रतामाथि हुने बन्देज र तिरस्कारविरुद्ध आवाज उठाउँदै छौँ।'

केसीले नृत्यमा लोक, कथक, समकालीनलगायत विभिन्न नृत्य शैली समिश्रण गरेर फरक स्वाद दिने प्रयास गरिएको बताए। 'नृत्य भावना पोख्ने एउटा कलात्मक शैली हो। सात वर्षअघि तयार पारिएको उक्त नृत्य नाटक दर्शकमाझ पहिलो पटक प्रस्तुत गर्न लागेका हौँ। भारतमा यसले दर्शकको मन जित्ने विश्वास छ', उनले भनिन्। 

नेशनल स्कुल अफ ड्रामाले आयोजना गरेको भारत रङ महोत्सवमा केसीको समूहले शनिबार र आइतबार दुई दिन प्रस्तुति दिनेछ।
 

कमेन्ट लोड गर्नुस