सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा फाइल पेस गर्न आदेश

२०८२ माघ १५, ०४:५३ खबर संवाददाता

काठमाडौँ: नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतले यसअघिको फाइल पूर्वादेशअनुसार कार्य सम्पन्न गरी पेस गर्न आदेश दिएको छ ।

चौधरीको रिट न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले यसअघि कर्तव्य ज्यान मुद्दासँग जोडिएको फैसलाको फाइल पूर्वआदेश अनुसार पेस गर्न आदेश दिएको छ ।

यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो । साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित बोलाएको थियो ।

ढकालको इजलासले शारदा कडायतले चौधरीलाई दिएको आममाफीविरुद्ध दिएको रिट फाइल र निर्वाचन आयोगले गरेको निर्णयको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । 

कमेन्ट लोड गर्नुस