कैलालीका किसानलाई निर्वाचनभन्दा बालीको चिन्ता
धनगढीः प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी बढिरहेका बेला कैलालीका किसानमा भने चुनावभन्दा पनि कृषिबालीको चिन्ता छ।
छाडा चौपाया समस्याका कारण हिउँदेबाली जोगाउन हम्मेहम्मे भएको छ। उनीहरूलाई चुनावी कुरा र भाषण सुन्नुभन्दा पनि आफ्नै खेतीपाती कसरी जोगाउने भन्ने पिरलो छ। यतिबेला गहुँ, मुसुरोलगायतका हिउँदेबाली पसाउने र दाना लाग्ने क्रममा छ। यसैबेला छाडा चौपायाले धेरै नोक्सान गरिरहेकाले कृषिबालीको चिन्ता रहेको कैलारी गाउँपालिका–७ का कृषक राजकुमार चौधरीले बताए। उनले गहुँ, मुसुरो जोगाउन रातभर खेतमा जाग्राम बस्ने गरेको भन्दै थपे, “चुनाव जितेकाले हामी किसानलाई मतलब गर्दैनन्। चुनावभन्दा पनि हामीलाई आफ्नै बाली जोगाउने चिन्ता छ।”
कैलालीको कैलारी, भजनी, टीकापुर, लम्कीचुहा, बर्दगोरिया, धनगढी, गोदावरी, गौरीगङ्गा, घोडाघोडीलगायत तराईका सबै पालिकामा छाडा चौपायाको समस्या छ । छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय तहले करोडौँ खर्च गरिसकेका छन् तर समस्या अझै ज्युँका त्युँ छ। दिनभर जङ्गलमा बस्ने छाडा चौपाया राति खेतमा पुगेर कृषिबालीमा नोक्सान गर्ने गरेको किसानले बताएका छन्।
बाली जोगाउन रातभर खेतमा जाग्राम बस्ने र दिनभर घरकै काममा व्यस्त रहने गरेका कारण चुनावप्रति खासै चासो नदिएको कैलारी गाउँपालिका–५ का कृषक बाँधुराम डङ्गौराले बताए। उनले रातभरि खेतमा बसेर बाली खान आएका चौपायालाई धपाउने गरेको उल्लेख गरे।
चुनाव आएका बेला राजनीतिक दल र नेताले छाडा चौपाया समस्या समाधानसहित किसानलाई आवश्यक पर्ने कृषि सामग्री, मलखादलगायतबारे चिल्ला कुरा गर्ने तर जितेपछि समस्या नहेर्ने गरेको किसानको गुनासो छ। कृषिप्रधान देशमा किसान समस्यैसमस्याबाट गुज्रिँदै आएको भन्दै उनीहरूले दलका नेता, उम्मेदवारलाई किसानको समस्यालाई चुनावी एजेन्डामा समेट्न आग्रह गरेका छन्।