सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाको दुग्ध विकास कार्यालय अब धनगढीबाट सञ्चालन

२०८२ माघ १३, ०२:५७ खबर संवाददाता

धनगढी: दुग्ध विकास संस्थान (डीडीसी) ले कैलालीको अत्तरियास्थित दुग्ध विकास आयोजना स्थानान्तरण गरी धनगढीबाट उत्पादन सुरु गरेको छ। अत्तरियामा लामो समयसम्म तालाबन्दी, आन्दोलन तथा आयोजनाका लागि उपयुक्त जग्गा उपलब्ध हुन नसकेपछि डीडीसीले कार्यालय र कारखाना धनगढी सारेको हो।

आयोजनालाई धनगढी–१५ कनरीमा सार्ने विषयमा करिब सात महिनासम्म अन्योल रहँदै आएको थियो। अन्ततः डीडीसीले पुस ३० गतेदेखि धनगढीबाट उत्पादन, दुग्ध संकलन, वितरण तथा प्रशासनिक कार्य सुरु गरेको जनाएको छ। पुस १४ गते कार्यालय सारिसकेपछि कारखाना स्थानान्तरणका क्रममा अवरोध भए पनि सबै मेसिन तथा कार्यालय धनगढी ल्याएर उत्पादन थालिएको हो।

धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित जडीबुटी प्रशोधन केन्द्रको गोदाममा कार्यालय र उद्योग सारेर पुस ३० गतेदेखि उत्पादन तथा संकलन कार्य सुरु गरिएको डीडीसीले जनाएको छ। आयोजना प्रमुख निरन्जन भट्टराईका अनुसार हाल कारखाना पूर्ण क्षमतामा सञ्चालनमा आएको छ।
‘धनगढीबाटै दुग्ध संकलन र उत्पादन भइरहेको छ,’ उनले भने, ‘कारखाना व्यवस्थापन सुधार गर्दै उत्पादन अझ बढाउने योजना छ।’

अत्तरियाबाट आयोजना सारिँदा स्थानीयको रोजगारी गुम्ने आशंका गरिएको थियो। तर, डीडीसीले अत्तरियामा कार्यरत सबै कर्मचारीको रोजगारीलाई निरन्तरता दिएको जनाएको छ। ‘अत्तरियामा कारखाना हुँदा ३–४ जना स्थानीय रोजगारीमा थिए,’ आयोजना प्रमुख भट्टराईले भने, ‘कसैको पनि रोजगारी कटौती गरिएको छैन।’

यसअघि अत्तरियाका स्थानीय बासिन्दा र केही जनप्रतिनिधिले आयोजना स्थानान्तरणको विरोध गर्दै तालाबन्दी र अवरोध गर्दै आएका थिए। अत्तरियामा लामो समयसम्म उपयुक्त जग्गा खोजिए पनि उपलब्ध नभएपछि धनगढी सार्नुको विकल्प नरहेको डीडीसीको भनाइ छ। धनगढी उपमहानगरपालिकासँग भएको सम्झौताअनुसार डीडीसीले गत आर्थिक वर्षमै कारखाना र कार्यालयका लागि संरचना निर्माण गरिसकेको थियो।

गत जेठमा आयोजना सार्ने तयारी भइरहेकै बेला जेठ ८ गते अत्तरियावासी र जनप्रतिनिधिले कार्यालयमा तालाबन्दी गरेपछि डीडीसीको प्रशासनिक काम चार महिनासम्म अवरुद्ध भएको थियो। यस अवधिमा किसानहरूले लामो समयसम्म दूधको मूल्य भुक्तानीसमेत पाउन सकेका थिएनन्। दशैं नजिकिँदै गर्दा सर्वपक्षीय छलफलपछि तालाबन्दी खोलिएको थियो।

सम्झौताअनुसार पुनः अत्तरियामै जग्गा खोजिए पनि उपलब्ध नभएपछि डीडीसीले पुसमा कार्यालय र कारखाना धनगढी सार्ने निर्णय गरेको हो। केही मेसिन सारिसकेपछि अर्को मेसिन लोड गर्ने क्रममा पुस १४ गते पुनः तालाबन्दी भए पनि पछाडिको ढोकाबाट काम गर्न दिइएकाले उत्पादन पूर्ण रूपमा बन्द हुन पाएन।

डीडीसीले अत्तरियामा उपयुक्त जग्गा नपाएपछि धनगढी उपमहानगरपालिकासँग सम्झौता गरी करिब ८ लाख रुपैयाँ खर्च गरेर धनगढी–१५ कनरीस्थित जडीबुटी प्रशोधन केन्द्रको गोदामलाई दुग्ध कारखानाका लागि आवश्यक फाउन्डेसन तयार गरेको हो। बजारभन्दा सस्तो दरमा भवनसहित स्थान उपलब्ध भएपछि आयोजना धनगढी सारिएको डीडीसीले जनाएको छ।

हाल उक्त कारखानाबाट तयारी दूध, दही, मही, घ्यु, पनिर, आइस्क्रिम, लस्सी लगायतका दुग्धजन्य पदार्थ उत्पादन गरी डीडीसीका बिक्री केन्द्रमार्फत बजारमा बिक्री हुँदै आएको छ। कारखानाले दैनिक करिब ३०० लिटर दूध खपत गर्ने गर्दछ। संकलन भएको बाँकी दूध भने हेटौंडा र पोखरास्थित दुग्ध विकास आयोजना कार्यालयमा पठाइने गरिएको छ।

 

कमेन्ट लोड गर्नुस