सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिद्धार्थ कटेज धनगढीमा तीन दिने ‘म:म महोत्सव’ हुने

२०८२ माघ १२, ०३:५७ खबर संवाददाता

धनगढी: धनगढीमा पहिलोपटक म:म महोत्सव आयोजना गरिएको छ। नेपालको आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा स्थापित सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ कटेज धनगढीले स्थानीय स्वाद र नेपालीहरूको प्रिय परिकार म:मलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गर्ने भएको हो।

धनगढी-३ को पृथ्वीनारायण चोक नजिक अवस्थित सिद्धार्थ कटेज एक रेस्टुरेन्ट मात्र नभई पारिवारिक मनोरञ्जन र विलासिताको संगमका रूपमा परिचित छ। यहाँ लक्जरी रेस्टुरेन्ट तथा प्राइभेट डाइनिङ, शान्त पारिवारिक वातावरणमा स्वादिष्ट भोजन, स्विमिङ पुल र वाटर फन पार्क, साथै ठूला सभा–समारोह, तालिम तथा उत्सवका लागि अत्याधुनिक हलहरूको सुविधा उपलब्ध छ।

सिद्धार्थ कटेजले नेपालगञ्जमा २०८० सालदेखि म:म महोत्सव आयोजना गर्दै आएको छ। यो वर्षदेखि सिद्धार्थ कटेजले धनगढीमा समेत म:म महोत्सव आयोजना गर्ने भएको बताइएको छ।

धनगढीमा चौथो संस्करणका रुपमा मनाइने म:म महोत्सव माघ १६, १७ र १८ गते सञ्चालन हुने कटेजका व्यवस्थापन तथा सञ्चालन प्रवन्धक महेश जोशीले बताए। उनले महोत्सवमा दुई सय भन्दा बढी प्रकारका म:म परिकारको स्वाद लिन पाइने बताए।

"धनगढीमा पनि पहिलोपटक म:म महोत्सव आयोजना गरेको हो। यस महोत्सवमा समेत दुई सय भन्दा बढी परिकारका म:मको स्वाद लिन सकिने छ," जोशीले भने। 

महोत्सवमा सुदूरपश्चिम प्रदेशका मौलिक तथा परम्परागत खानाका विशेष स्टलहरू पनि राखिने बताइएको छ। स्थानीय पहिचान झल्काउने परिकार, परम्परागत स्वाद र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले राखिएका यी स्टलहरूले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको कटेजका क्षेत्रीय निर्देशक केशवराज न्यौपानेले बताए।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा पहिलो र दोस्रो दिन सांस्कृतिक नृत्य, लाइभ ब्याण्ड तथा कलाकारहरूको प्रस्तुति रहनेछ। तेस्रो तथा अन्तिम दिन सांस्कृतिक कार्यक्रमसँगै ‘म:म मेकिङ एण्ड कुकिङ कम्पिटिसन’ समेत आयोजना गरिने न्यौपानेले बताए। उनले म:म खाने प्रतियोगितासमेत हुने बताए।

स्थानीय खाद्य परिकारको प्रवर्द्धन र पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित आयोजना गरिएको म:म  महोत्सवमा म:म बनाउने र पकाउने प्रतियोगिता हुने बताइएको छ। इच्छुक व्यक्तिले नि:शुल्क सहभागी हुन पाउने र सहभागीलाई तालिमसमेत दिइने बताइएको छ

कमेन्ट लोड गर्नुस