शिवगंगा नदीमा पक्की पुल बनाउने दललाई मात्रै भोट दिने शान्तिकटानवासीको मनाशय
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१५ स्थित शान्तिकटान टोलका स्थानीयवासीले शिबगंगा नदीमा पक्की पुल निर्माण गर्ने राजनीतिक दललाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्ने बताएका छन् ।
खुटिया नदी र शिबगंगा नदीले घेरेको टापुजस्तो भौगोलिक अवस्थामा रहेको शान्तिकटानका बासिन्दाले शान्तिकटान र उर्मा जोड्ने शिबगंगा नदीको बेलघाट क्षेत्रमा पक्की पुल निर्माणको माग गरेका हुन् ।
उक्त स्थानमा पुल नहुँदा वडा कार्यालयसँगको सम्पर्कमा कठिनाइ भइरहेको तथा वडा नम्बर १६ र १७ का नागरिकसमेत प्रत्यक्ष रूपमा प्रभावित भएको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार पक्की पुल नहुँदा धनगढी जान बेली पुल हुँदै लामो दूरीको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यसका कारण विवाह, विभिन्न सामाजिक कार्यक्रम तथा बिरामीको उपचारका क्रममा समेत समस्या हुँदै आएको छ ।
धनगढी उपमहानगरपालिका–१५ का स्थानीय हरिनारायण रानाले धनगढी बजारसम्म पुग्न खुटिया नदीमा बनेको पथरी पुल प्रयोग गर्न सहज भए पनि वडा कार्यालयका सेवा–सुविधा लिन शिबगंगा नदीमा पुल नहुँदा असहज हुने गरेको बताए। उनका अनुसार पक्की पुल अभावमा एम्बुलेन्सले बिरामी लिन पाँच मिनेटको दूरीलाई घण्टौँ घुमेर शान्तीकटान पुग्नुपर्ने बाध्यता छ । त्यसैले पक्की पुल नै यस क्षेत्रका जनताको मुख्य माग भएको उनको भनाई ।
स्थानीय अस्मिता चौधरीले विगतमा विभिन्न राजनीतिक दलले पटक–पटक शिबगंगा नदीमा पुल निर्माण गर्ने आश्वासन दिए पनि कार्यान्वयन नभएको गुनासो गरिन्। “अब हामी झुटा आश्वासन चाहँदैनौँ,” उनले भनिन्, “हाम्रो विश्वास जित्ने गरी पक्की पुल बनाउने दललाई यसपाली मत दिन्छौँ ।”
त्यस्तै, सोही टोलकी पशुपति देवी सार्कीले पनि यस निर्वाचनमा शिबगंगा नदीमा पक्की पुल बनाउने विश्वासिलो आधार दिने राजनीतिक दललाई टोलवासीले समर्थन गर्ने बताईन्। उनले दुई नदीले घेरेको टापुका नागरिक भएकाले वडा कार्यालयसँग सहज सम्पर्कका लागि पक्की पुल अनिवार्य रहेको उल्लेख गरिन्। नदीमा रहेको झोलुङ्गे पुलले केही सहज भए पनि सबै आवश्यकता पूरा गर्न नसक्ने उनको भनाइ छ।
धनगढी–१५ की वडा सदस्य मंगली सार्कीले स्थानीय जनताको माग जायज रहेको बताउँदै पुलसँगै तटबन्धनको समेत तत्काल आवश्यकता रहेको बताइन्। उक्त टोलमा दलित समुदायका ६८ घरपरिवारसहित चौधरी समुदाय गरी करिब एक सय ६८ घरपरिवार बसोबास गर्दै आएका छन् ।
वडा नम्बर–१५ का वडाध्यक्ष शुकदेव रानाले विभिन्न निकायमा पहल भए पनि हालसम्म पक्की पुलको योजना कतैबाट स्वीकृत नभएको बताउए। उनका अनुसार डा. आरजु राणा देउवाको पहलमा तटबन्धनको केही काम भए पनि अझै बाँकी छ । “ढुवानी र आवतजावतमा समस्या छ,” उनले भने, “पुल निर्माणका लागि पहल गरिरहेको छु, तर ठोस काम हुन सकेको छैन ।” शान्तीकाटानको जनतको भावना चुनावमा उठेका उम्मेदवारहरुले मनन् गर्नुपर्ने वडाध्यक्ष रानाको भनाइ छ ।