धनगढी स्थित किङ्गफिसर स्कूलको वार्षिक उत्सव भव्य रूपमा सम्पन्न
धनगढीः धनगढी–१३ स्थित श्री किङ्गफिसर इङ्लिस बोर्डिङ स्कूलको वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
स्कूलका सञ्चालक पुष्कर पन्तका अनुसार शनिबार विभिन्न साँस्कृतिक तथा औपचारिक कार्यक्रम गरि वार्षिकोत्सव मनाईएको हो। कार्यक्रमका अवसरमा विद्यालयबाट नर्सरीदेखि कक्षा १० सम्म अध्ययन पूरा गरी सुदूरपश्चिम प्रदेशकै गौरवका रूपमा थारु समुदायबाट पहिलो महिला पाइलट बनेकी टीका चौधरी लगायत उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो। विद्यालयबाट पाईलट उत्पादन हुनु समग्र विद्यालय परिवार र समाजका लागि गर्वको विषय भएको उनले बताए।
कार्यक्रममा २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरुलाई पनि विशेष सम्मान गरिएको थियो। उक्त विद्यालयले २०८१ सालको माध्यमिक शिक्षा परिक्षामा शत प्रतिशत नतिजा हाँसिल गरि कैलाली जिल्लामै सर्वोत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको थियो। विद्यालयले सम्मानित हुने सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेको छ।
वार्षिक उत्सव कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथि रहेकी थिईन्। त्यस्तै नास्ट कलेजका प्रमुख शिवहरि शर्मा मुडभरी, ऐश्वर्य स्कूलका प्राचार्य नरेस पन्त, नास्टका प्राचार्य डा.प्रेम बहादुर चन्द, संजय पन्त र उपेन्द्र बमलगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तरलाई कायम राख्दै उत्कृष्ट विद्यार्थी उत्पादनमा जोड दिने सञ्चालक पुष्कर पन्तले बताएका छन्।