सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी लेडी जेसिजको १२औँ पदस्थापन समारोह सम्पन्न, नयाँ नेतृत्वसँगै आन्तरिक विवाद अन्त्य

२०८२ माघ ११, ०१:३९ खबर संवाददाता

धनगढीः धनगढी लेडी जेसिजको १२औँ पदस्थापन समारोह तथा सम्मान वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ।

धनगढी लेडी जेसिज वर्ष २०२५ की अध्यक्ष संगीता न्यौपाने शाहको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। प्रमुख अतिथि जोशीले जेसिजले नेतृत्व विकास, महिला सशक्तीकरण र सामाजिक सेवामा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै युवालाई सकारात्मक परिवर्तनका संवाहक बन्न आग्रह गरे।

समारोहमा वर्ष २०२५ की अध्यक्ष संगीता न्यौपाने शाहले नवनिर्वाचित वर्ष २०२६ की अध्यक्ष जेसी पार्वती भट्ट जोशीलाई जेसिज विधिअनुसार औपचारिक रूपमा चेन हस्तान्तरण गरिन्। चेन हस्तान्तरणसँगै नयाँ नेतृत्वले संगठनको जिम्मेवारी औपचारिक रूपमा सम्हालेको घोषणा गरिएको थियो।

कार्यक्रममा जेसिजका पूर्व अध्यक्ष तथा पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रमुख, जनप्रतिनिधि, सञ्चारकर्मी र जेसिज सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा संगठन तथा समाजमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत प्रदान गरिएको थियो।

यसअघि धनगढी लेडी जेसिजभित्र दुई समूहबीच देखिएको आन्तरिक विवाद नयाँ कार्यसमिति निर्वाचित भएसँगै अन्त्य भएको जानकारी दिइएको छ। निवर्तमान तथा वर्तमान अध्यक्षहरूले जेसिजभित्र अब कुनै पनि विवाद नरहेको स्पष्ट पार्दै महिला तथा युवालाई एकताबद्ध गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वक्ताहरूले संगठनलाई अझ सबल, पारदर्शी र परिणाममुखी बनाउँदै सामाजिक रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

कमेन्ट लोड गर्नुस