सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्रका डिआइजी पालको सरुवा, यी हुन् उनको कार्यकालका उपलब्धि

२०८२ माघ १०, १२:०६ खबर संवाददाता

धनगढी: सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीका बाहिनीपति डिआइजी प्रदीप कुमार पालको सरुवा भएको छ। पालको कैलालीबाट सशस्त्र प्रहरी बल प्रधानकार्यालय सरुवा भएको  हो।  शुक्रवार आयोजित २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत जयन्ती) को अवसरमा विशेष समारोह आयोजना गर्दै डिआइजी  पालले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिका गरेका हुन्।

समारोहमा अवकास प्राप्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, वहालवाला तथा अवकास प्राप्त उपरीक्षक, नेपाल पूर्व सशस्त्र प्रहरी संघ सुदूरपश्चिम प्रदेशका पदाधिकारी, सशस्त्र प्रहरी परिवार महिला संघका प्रतिनिधि, वहालवाला तथा अवकास प्राप्त वरिष्ठ तथा कनिष्ठ अधिकृत, जवान, अमर सशस्त्र प्रहरीका आश्रित परिवारजन, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा देशमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा प्राण आहुति दिने संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्ण मोहन श्रेष्ठसहित सम्पूर्ण अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै कर्तव्यपालनका क्रममा घाइते तथा अङ्गभंग भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै बैद्यनाथ वाहिनीका प्रमुख तथा सुदूरपश्चिम प्रदेशका डिआइजी प्रदीप कुमार पालले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा ८० वटा इकाइमार्फत सीमा सुरक्षा, आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन तथा विकास निर्माण सुरक्षामा सशस्त्र प्रहरीले उल्लेखनीय योगदान पुर्‍याउँदै आएको जानकारी दिए।

उनले धनसिंहपुरको १०९ मिटरदेखि दार्चुलाको तिङ्करको ४२०० मिटर उचाइसम्मको कठिन भौगोलिक अवस्थामा समेत संगठन निरन्तर रूपमा परिचालित रहँदै आएको उल्लेख गरे।

डीआईजी पालका अनुसार सीमा सुरक्षाअन्तर्गत सीमापार अपराध नियन्त्रण, अवैध कारोबार रोकथाम, मानव बेचबिखन नियन्त्रण, लागुऔषध ओसारपसार रोकथाम, हातहतियार तस्करी, जाली नोट, मनी लाउन्डरिङ तथा आतङ्ककारी गतिविधि नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ।

अवैध बरामदीमा भएको वृद्धिले राजस्व संकलनमा समेत टेवा पुगेको जनाउँदै उनले गत आर्थिक वर्षमा वाहिनी तथा मातहत कार्यालयमार्फत २२ करोड ७९ लाख १० हजार ३ रुपैयाँ बराबरको अवैध मालसामान बरामद गरिएको बताए। उनले चालु आर्थिक वर्षमा हालसम्म मात्रै १४ करोड ४३ लाख ३४ हजार ६६२ रुपैयाँ बराबरको अवैध सामग्री बरामद भइसकेको जानकारी दिए।

विपद् व्यवस्थापनतर्फ सशस्त्र प्रहरीले अग्रणी भूमिका निर्वाह गर्दै भूकम्प, बाढी, पहिरो, आगलागी, डुबान र शीतलहरजस्ता विपद्मा उद्धार तथा राहत कार्य गर्दै आएको बताइएको छ। साथै समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण कार्यक्रम, स्वयम्सेवक तालिम तथा सचेतनामूलक कार्यक्रमहरू पनि निरन्तर सञ्चालन हुँदै आएका छन्।

समारोहका अवसरमा उत्कृष्ट इकाइ, सुरक्षा बेस, बिओपी तथा खेलकुद र सांस्कृतिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने प्रहरी कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। यसैबीच हालैमात्र सुदूरपश्चिमका डिआइजी प्रदीप कुमार पालको प्रधान कार्यालय सरुवा भएको छ। उनको कार्यकालमा उल्लेखनीय कार्य तथा सुधार भएको भन्दै मातहत कर्मचारी, प्रदेश सरकार तथा सरोकारवालाहरूले उनलाई शुभकामना व्यक्त गरेका छन्।

कमेन्ट लोड गर्नुस