मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’
महोत्तरीः नेपाल र भारतको मिथिलाञ्चल क्षेत्रमा आज हलो गोरु पूजा गरिएको छ। प्रत्येकवर्ष झै श्रीपञ्चमीको अवसर पारेर महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले आजका दिन आ–आफ्ना हलो र गोरुको पूजा गर्दै हलो गोरु पूजा मनाइरहेका छन्।
परम्परागत रूपमा यहाँ किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै आजका दिन हलो र गोरुको पूजा गर्दै आएको जलेश्वर नगरपालिका– ५ का संस्कृतिविद् ध्रुव झाले बताए। मिथिलाञ्चलका किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षेता, अबीर, चामल, लड्डुलगायतका वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गर्नेछन्। यस्तै, घर बाहिर गोरुलाई नुहाइ नयाँ रङ्गीचङ्गी डोरी लगाएर पूजा गर्ने गरेको जलेश्वर नगरपालिका– ८ का पण्डित बद्रीनारायण झाले बताए।
किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर एकछिन जोत्ने चलन रहेको जलेश्वर–८ कै अर्का पण्डित अनिल पाठकले बताए। आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलो पटक खेत जोत्न लगाउने तथा बाछोबाट गोरुको रूपमा तयार भइसकेकालाई आजका दिनबाटै गोरु बनाउने चलन रहेको छ।
किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औँजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने प्रचलनसमेत रहेको छ। श्रीपञ्चमीको अवसरमा किसानले अरवा चावलमा सख्खर मिलाएर एक किसिमको कृषिप्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर एकआपसमा अबीर दल्ने तथा प्रसाद वितरण गर्ने गरेका छन्।