जन्मदिनलाई सेवामा रूपान्तरण गर्दै गायक भिम बिसी
धनगढी: चर्चित गायक तथा संगीतकार भिम बिसीले आफ्नो जन्मदिनको अवसरलाई सेवामूलक कार्यमार्फत अर्थपूर्ण बनाउँदै धनगढीस्थित मानव सेवा आश्रममा मानवीय सेवा गरेका छन्।
जन्मदिनलाई औपचारिक उत्सवभन्दा सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले उनी आश्रम पुगेका हुन्। काठमाडौँमा रहँदा पनि समाजसेवामै जन्मदिन मनाउँदै आएका बिसीले यसपटक भने आफ्नो जन्मभूमि धनगढीमा रहेका असहाय,
बेसहारा तथा मानसिक रूपमा अशक्त व्यक्तिहरूसँग आत्मीय भेटघाट गर्दै बिहानीको भोजन गराएका छन्।
कार्यक्रमका क्रममा बिसीले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै समाजका हरेक व्यक्तिले आ–आफ्नो स्थानबाट सामाजिक जिम्मेवारी वहन गर्नुपर्ने धारणा व्यक्त गरे। उनले जन्मदिनमा मात्र होइन, आवश्यक पर्दा सधैं सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
उक्त सेवामूलक कार्यक्रममा भिम बिसीसँगै उनकी जन्म दिने आमा, दाजु, भाउजू, भतिजा तथा हृदयसँगैका मित्र एवं पत्रकार विवेक नागरीको समेत उपस्थिति रहेको थियो। पारिवारिक तथा आत्मीय मित्रहरूको सहभागिताले कार्यक्रमलाई अझ भावनात्मक र प्रेरणादायी बनाएको सहभागीहरूले बताएका छन्।
मानव सेवा आश्रमका प्रतिनिधिहरूले भिम बिसीको यस कार्यको उच्च प्रशंसा गर्दै कलाकारहरू समाजका लागि प्रेरणाको स्रोत बन्न सक्ने उल्लेख गरे।