सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन आयोगले आधिकारिकता नदिए काँग्रेस देउवा समूहले देशभर आन्दोलन गर्ने 

२०८२ माघ २, ०३:३८ खबर संवाददाता

काठमाडौँः नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहले निर्वाचन आयोगले संविधान, कानुन तथा पार्टी विधानविपरीत निर्णय गरेमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले विधि र विधानको उल्लंघन गर्दै निर्णय गरे काँग्रेस आन्दोलनमा उत्रिने स्पष्ट पारे। उनले भने, 'निर्वाचन आयोगले संविधान, कानुन, पार्टी विधान र नियमावलीविपरीत निर्णय गरेमा नेपाली काँग्रेस देशभर आन्दोलन गर्छ।' उनले देउवा समूह नै आधिकारिक काँग्रेस भएकाले निर्वाचन आयोगले मान्यता दिनुपर्ने बताएका छन्।

खड्काले आयोगले त्यस्तो निर्णय नगर्ला भन्ने विश्वास आफूलाई रहेको बताए। तर पछिल्लो समय बाहिर आएका चर्चा र बहसका कारण यदि आयोगबाट गलत निर्णय भयो भने काँग्रेस चुप नबस्ने उनको भनाइ थियो।

उनले निर्वाचन आयोगबाट विधि र विधानविपरीत निर्णय आएमा आन्दोलनका लागि तयार रहन पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह गरे। 'हामीमाथि हुने गलत निर्णयविरुद्ध पार्टीले आवश्यक परेको बेला आन्दोलनका लागि आह्वान गर्नेछ। त्यसबेला उपस्थित हुन सबैलाई तयार रहन आग्रह गर्दछु,' खड्काले बताए।

कमेन्ट लोड गर्नुस