पश्चिम बंगालमा निपाह रोग देखिएपछि नेपालमा सतर्कता, जोखिम बढ्न सक्ने चेतावनी
धनगढी: भारतको सीमावर्ती राज्य पश्चिम बंगालमा निपाह रोग देखिएपछि नेपालमा पनि यस रोग फैलिन सक्ने जोखिमबारे सतर्कता अपनाइने भएको छ । रोग नियन्त्रणसम्बन्धी निकायले मंगलबार सम्बन्धित सबै निकायलाई सचेत गराउने निर्णय गरेको छ । विश्व स्वास्थ्य संस्थाका अनुसार निपाह रोगको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म रहेको छ ।
सम्बन्धित अधिकारीहरूको बैठकपछि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमअनुसार आधिकारिक सूचना प्राप्त भएपछि मात्र थप रोकथामका उपाय अपनाइने जनाइएको छ । अधिकारीहरूले जोखिमलाई ध्यानमा राख्दै सीमा नाका, विमानस्थल तथा स्वास्थ्य डेस्कलाई सतर्क बनाइने बताएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगालमा स्वास्थ्यकर्मीसमेत गरी कम्तीमा दुई जना निपाह शंकास्पद संक्रमित फेला परेका छन् र उनीहरूको अवस्था गम्भीर रहेको छ ।
चिकित्सकहरूका अनुसार निपाह जनावरबाट मानिसमा सर्ने रोग हो, जसको मुख्य स्रोत फलफूल खाने चमेरा मानिन्छ । संक्रमित जनावरसँग सम्पर्क वा मानिसबाट मानिसमा स्रावमार्फत पनि रोग सर्न सक्ने जोखिम रहेको छ ।
नेपालमा पनि फलफूल खाने चमेरा पाइने र भारतसँग खुला सीमा रहेकाले निपाह रोग फैलिन सक्ने सम्भावना रहेको चिकित्सकहरूको भनाइ छ । निपाहका लक्षण ज्वरो, टाउको दुखाइ, झट्का, श्वासप्रश्वास तथा स्नायु सम्बन्धी समस्या हुने र रोग छिट्टै गम्भीर हुने जनाइएको छ ।
हाल निपाह रोगको निश्चित उपचार नभएकाले लक्षणअनुसार मात्र उपचार गरिँदै आएको छ ।