गगन–विश्व र मन्सुरलाई कारबाही गर्ने निर्णय खारेज
काठमाडौँः नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीमाथि गरिएको कारबाहीसम्बन्धी पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ। बुधबार भृकुटीमण्डपमा बसेको विशेष महाधिवेशनको बन्दसत्रले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी गरिएको कारबाही अमान्य ठहर गरेको हो।
कारबाही खारेजपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले कांग्रेस पार्टी कसैको निजी कार्यालय नभएको बताए। उनले विशेष महाधिवेशन सुरु हुनुअघि नै सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भङ्ग भइसकेको र त्यसको जानकारी निर्वाचन आयोगलाई दिइसकेको दाबी गरे। कांग्रेस पार्टी सबैको साझा संस्था भएकाले कसैले एकल दाबी गर्न नसक्ने उनको भनाइ थियो।
महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नेतृत्वले जे निर्णय गरे पनि अब कांग्रेसलाई अघि बढाउने जिम्मेवारी विशेष महाधिवेशनको हलले लिने स्पष्ट पारे। उनले विशेष महाधिवेशनबाट गठन हुने कार्यसमितिलाई निर्वाचन आयोगमा दर्ता गराइने बताए।
सहमहामन्त्री फर्मुल्लाह मन्सुरले विशेष महाधिवेशनबाट भएको निर्णयलाई रोक्न कसैले नसक्ने दाबी गर्दै पार्टीलाई नयाँ दिशामा अघि बढाइने उल्लेख गरे।