सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समिति सम्मानित

२०८२ पुष २९, ०५:१४ खबर संवाददाता

धनगढीः चैतन्य पाठशालाले धनगढी उपमहानगरपालिका स्तरीय नगर भलमान्सा समितिलाई चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को सातौँ दिनको विशेष समारोहमा सामुदायिक नेतृत्व र सामाजिक न्यायको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको छ।

थारु समुदायको बडघर-भलमान्सा प्रथामार्फत जनसमुदायका आवाज, आवश्यकता र समस्यालाई सङ्गठित रूपमा सङ्कलन गरी सम्बन्धित निकायसम्म पुर्‍याउँदै स्थानीय सामाजिक न्याय, मेलमिलाप र सामाजिक एकता कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै समितिलाई “चैतन्य उत्कृष्ट सामुदायिक नेतृत्व सम्मान” प्रदान गरिएको हो।

समारोहमा कार्यक्रमका प्रमुख अतिथि कैलारी गाउँपालिकाका अध्यक्ष राम समझ चौधरी, चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा तथा पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले समितिका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान–पत्र र दोसल्लासहित सम्मान गरेका हुन्।

सम्मानित हुनेमा नगर भलमान्सा समितिका अध्यक्ष रोहित चौधरी, उपाध्यक्ष रामनारायण चौधरी, सचिव बिन्तीराम चौधरी, कोषाध्यक्ष तेजराम चौधरी, तथा सदस्यहरू क्रमशः भोजराम चौधरी शिव चरण चौधरी, जितराम चौधरी, माया चौधरी, गणेश चौधरी, कृष्ण राना र जोगीलाल चौधरी रहेका छन्।

आयोजकका अनुसार बडघर प्रणालीको संरक्षण, प्रवर्द्धन तथा सशक्त कार्यान्वयनमार्फत जनसहभागिता अभिवृद्धि, सामाजिक सद्भाव कायम र स्थानीय शासन प्रक्रियामा समुदायको पहुँच विस्तार गर्न समितिले खेलेको भूमिकालाई सम्मान गर्दै यो कदर प्रदान गरिएको हो।

सम्मानपछि समितिका प्रतिनिधिहरूले चैतन्य पाठशालाप्रति आभार व्यक्त गर्दै समुदायको हित, सामाजिक न्याय र परम्परागत मूल्य–मान्यताको संरक्षणका लागि आगामी दिनमा पनि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।

चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शिक्षा, स्वास्थ्य, समाजसेवा, उद्यमशीलता, खेलकुद, संस्कृति तथा सामुदायिक नेतृत्वमा योगदान पु¥याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गर्दै विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

कमेन्ट लोड गर्नुस