देउवाले चुनाव लड्न नपाउने विशेष महाधिवेशन पक्षधरको अडान
काठमाडौँ: नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गरिरहेका पक्ष र संस्थापन समूहबीच वार्ता जारी रहेको छ। दुई समूहबीच बालुवाटारमा छलफल भइरहेको छ।
विशेष महाधिवेशन पक्षधर एक नेताका अनुसार संवादका क्रममा उनीहरूले केही मुख्य विषयमा स्पष्ट अडान राख्ने तयारी गरेका छन्। पहिलो, सभापति शेरबहादुर देउवाले अब सक्रिय राजनीतिबाट पछि हटेर पार्टीभित्र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने माग गरिएको छ।
दोस्रो अडानका रूपमा सभापति देउवाले आगामी चुनावमा उम्मेदवारी नदिनुपर्ने विषय उठाइएको छ। सभापति देउवा चुनाव नलडेको अवस्थामा पार्टीभित्र दोस्रो पंक्तिका नेताले संसदीय दलको नेतृत्व सम्हाल्ने अवसर सिर्जना हुने उनीहरूको तर्क छ।
तेस्रो, विशेष महाधिवेशनको प्रक्रिया र निर्णयलाई पार्टीका सबै तहले अपनत्व लिनुपर्नेमा पक्षधरहरूले जोड दिएका छन्। वार्ता जारी रहेकाले छलफलको निष्कर्ष आउन बाँकी रहेको बताइएको छ।