कावा सभापति खड्काको अपिल पार्टी एकतामा असर पर्ने गतिविधि नगर्न आग्रह
काठमाडौँ: नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र एकताका साथ अघि बढ्न सबैलाई आग्रह गरेका छन्। कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा भृकुटीमण्डपमा बन्दसत्र चलिरहेका बेला उनले विज्ञप्ति जारी गर्दै पार्टी एकतामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका हुन्।
कार्यवाहक सभापति खड्काले मुलुकको वर्तमान विषम परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पार्टीभित्र देखिएको असहज अवस्था अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। विज्ञप्तिमा उनले प्रतिनिधिसभा विघटनपछि देश अन्योल र अनिश्चितताको अवस्थामा पुगेको उल्लेख गरेका छन्। “अहिले मुलुक गम्भीर अवस्थामा छ। देशको सर्वोच्च जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटन भएको छ। यस्तो अवस्थामा देश र लोकतन्त्रप्रति सर्वत्र चासो र चिन्ता देखिएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ,” विज्ञप्तिमा भनिएको छ।
उनका अनुसार उक्त निर्वाचनमार्फत संविधानलाई सही मार्गमा ल्याउँदै लोकतान्त्रिक र संवैधानिक व्यवस्थालाई पुनः सञ्चालन गर्नु आवश्यक छ। यस्तो अवस्थामा नेपाली कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुन अपरिहार्य रहेको उनले बताएका छन्। पार्टीभित्र उत्पन्न असहजता र अन्योल हटाउन आपसी समन्वय र एकता आवश्यक रहेको पनि उनले उल्लेख गरेका छन्।
विज्ञप्तिमा कांग्रेसले विगतमा मुलुकमा विषम परिस्थिति उत्पन्न भएका विभिन्न कालखण्डमा परिस्थितिको सही मूल्याङ्कन गर्दै आफ्नो नेतृत्वमा उपयुक्त निकास दिएको इतिहास रहेको स्मरण गराइएको छ।
“कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भएकाले हाम्रो काँधमा फेरि एकपटक ऐतिहासिक जिम्मेवारी आएको छ। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि विसं २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनमार्फत पार्टीको नीतिमा आवश्यक परिमार्जन गर्दै नेतृत्व सहज रूपमा परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यसैले अहिले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै सम्पूर्ण पार्टीपंक्ति एकताबद्ध भई अभियानका रूपमा जुट्न आवश्यक रहेको कार्यवाहक सभापति खड्काले अपिल गरेका छन्।