सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शारदा माविमा ९ छात्रवृत्ति अक्षयकोष स्थापना

२०८२ पुष २८, ०४:०२ खबर संवाददाता

धनगढी: धनगढी–२ स्थित शारदा माध्यमिक विद्यालयमा शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याउने उद्देश्यले ९ वटा छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ। विद्यालयले आयोजना गरेको अभिभावक भेला २०८२ को अवसरमा विभिन्न व्यक्तित्व तथा संस्थाको सहयोगमा ती अक्षयकोष स्थापना गरिएका हुन्।

स्थापित अक्षयकोषमध्ये सुवास शाहीले ‘एसपीए कृतिगंगा प्रतिभा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका छन्, जसको रकम ५ लाख १ हजार रहेको छ। यस्तै चक्र बहादुर सिंहले ५ लाख १ हजार बराबरको ‘चक्र लक्ष्मी सिंह प्रतिभा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका छन्।

दीपक बहादुर सिंहले १ लाख ७१ हजार ५ सय बराबरको ‘रामराजमती सिंह स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका छन् भने सूर्यप्रसाद जोशीले १ लाख ५१ हजारको ‘मुकुन्दराम जोशी स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका छन्। डा। सुरेश पन्तले पनि १ लाख ५१ हजारको ‘मेघ लक्ष्मी पन्त प्रतिभा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका छन्।

यसैगरी सरिता थापाले १ लाख १ हजार १ सय ११ रुपैयाँ बराबरको ‘सरिता थापा प्रतिभा छात्रवृत्ति अक्षयकोष’, जनकराज जोशीले १ लाख १ हजारको ‘राम शारदा जोशी स्मृति छात्रवृत्ति अक्षयकोष’ र मान बहादुर चौधरीले ५१ हजार बराबरको ‘भागीराम ज्यूरानी प्रतिभा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका छन्। विद्यालयले आफैंले पनि ५ हजार बराबरको ‘विरु चौधरी स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेको छ।

सबै अक्षयकोषको कुल रकम १७ लाख ३३ हजार ६ सय पुगेको विद्यालयका प्रधानाध्यापक तेज बहादुर सिंहले बताए। उनका अनुसार अक्षयकोषमार्फत प्रत्येक वर्ष आर्थिक रूपमा कमजोर, जेहेन्दार र अनुशासित विद्यार्थीलाई नियमित रूपमा छात्रवृत्ति प्रदान गरिनेछ।

विद्यालय प्रशासनले अक्षयकोषको मूलधन सुरक्षित राखी त्यसबाट प्राप्त ब्याज रकमबाट मात्र छात्रवृत्ति वितरण गरिने व्यवस्था गरिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस