सुदूर नेपाललाई विश्वसँग जोड्दै

आपसी सद्भाव र सहकार्य देशको समृद्धिका आधार हुन् : मुख्यमन्त्री शाह

२०८२ पुष २७, ०२:४१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल एकीकरणका महान नायक पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व, राष्ट्रप्रेम र ‘नेपाल साझा फूलबारी हो’ भन्ने मूल दर्शनले विविधताभित्रको एकतालाई संस्थागत गर्दै नेपालको राष्ट्रिय पहिचानलाई सुदृढ बनाएको बताएका छन्।

३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८२ को अवसरमा जारी शुभकामना सन्देशमा मुख्यमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली देशबासीप्रति सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना व्यक्त गरेका छन्।

उनले तत्कालीन अवस्थामा रहेका अनेक साना–साना राज्यहरूलाई एकीकृत गरी स्वतन्त्र, सार्वभौम र एकीकृत नेपालको आधार निर्माण गर्ने पृथ्वीनारायण शाहको ऐतिहासिक योगदान आजको नेपाल राष्ट्रको पहिचान र अस्तित्वसँग अविभाज्य रूपमा जोडिएको उल्लेख गरेका छन्।

मुख्यमन्त्री शाहका अनुसार इतिहासका विभिन्न कालखण्डमा नेपाली जनताले देखाएको त्याग, संघर्ष र बलिदानकै परिणामस्वरूप नेपाल आज स्वाभिमानी राष्ट्रका रूपमा स्थापित हुन सफल भएको हो। वर्तमान सन्दर्भमा राष्ट्रिय एकता, आपसी सद्भाव र सहकार्य नै राज्यको स्थायित्व, लोकतान्त्रिक मूल्यको संरक्षण, सुशासन र समृद्धिको आधार भएको उनले बताएका छन्।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले संविधानको संरक्षण, लोकतान्त्रिक अभ्यासको सुदृढीकरण तथा देशको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितको रक्षा गर्दै एकताबद्ध भएर अघि बढ्न सबै नेपालीलाई थप प्रेरणा दिने विश्वास मुख्यमन्त्री शाहले व्यक्त गरेका छन्।

साथै, उनले यस दिवसले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, विश्वास र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउँदै देशको समग्र विकास र समृद्धिको यात्रामा मार्गदर्शन गरोस् भन्ने कामना व्यक्त गरेका छन्।


 

कमेन्ट लोड गर्नुस