सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम मन्त्रिपरिषद्को निर्णय: कारागार झडपका मृतकका परिवारलाई राहत दिने 

२०८२ पुष २७, ०२:०५ खबर संवाददाता

धनगढी: आइतबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। बैठकले कैलाली कारागारमा दुई समूहबीच भएको झडपमा ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।

गत साउन २३ गते कैलाली कारागारमा भएको झडपमा चौधरीको मृत्यु भएको थियो। यसअघि साउन २५ गते मुख्यमन्त्री कमल बहादुर शाहको उपस्थितिमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले मृतक चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो, जसलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ।

यस्तै, मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशमा सडक मर्मत प्रणालीलाई संस्थागत रूपमा लागू गर्ने उद्देश्यले ‘सडक मर्मत समूह निर्देशिका’ स्वीकृत गरेको छ। यस निर्देशिकाअनुसार प्रदेश सरकारले निर्माण गरेका कालोपत्रे सडकहरूको नियमित मर्मतसम्भार मर्मत समूहमार्फत गरिनेछ। प्रदेश सरकारले प्रत्येक वर्ष करिब २०० किलोमिटर कालोपत्रे सडक निर्माण गर्दै आएको छ। नियमित मर्मत तथा सम्भारबाट सडकको आयु दीर्घकालीन हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, बैठकले ‘सुदूरपश्चिम प्रदेश वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन कार्यविधि, २०८२’ स्वीकृत गरेको छ। साथै, ‘सुदूरपश्चिम जनस्वास्थ्य सेवा ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरिएको छ।
 

कमेन्ट लोड गर्नुस