सुदूरपश्चिममा नागरिक घोषणापत्र : सुशासन र निष्पक्ष निर्वाचनमा जोड
कैलालीः सुदूरपश्चिम प्रदेशमा विद्यमान राजनीतिक अस्थिरता, बढ्दो भ्रष्टाचार, दण्डहीनता र नागरिक असन्तुष्टिका बीच नागरिक समाजले लोकतन्त्रको रक्षा, निष्पक्ष तथा भयमुक्त निर्वाचन र दिगो विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
गैरसरकारी संस्था महासंघको नेतृत्वमा सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, बझाङ, डडेलधुरा, डोटी, कञ्चनपुर र कैलाली जिल्लामा सञ्चालन गरिएका बहुपक्षीय अन्तरक्रिया, छलफल र अन्तरपुस्ता संवादका निष्कर्षस्वरूप 'सुदूरपश्चिम प्रदेश नागरिक घोषणापत्र २०८२' सार्वजनिक गरिएको हो।
महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईको नेतृत्वमा पुस १६ गतेदेखि २४ गतेसम्म सम्पन्न कार्यक्रमहरूमा राजनीतिक दल, स्थानीय सरकार, सुरक्षा निकाय, निर्वाचन आयोग, प्रशासन, सञ्चारकर्मी, निजी क्षेत्र, नागरिक समाज, जेन्जी तथा नवयुवाको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा सुदूरपश्चिमको वर्तमान राजनीतिक अवस्था, आसन्न प्रतिनिधि सभा निर्वाचन, सुशासनको अवस्था, भ्रष्टाचार नियन्त्रण, जेन्जी नवयुवाको राजनीतिक सहभागिता, सामाजिक संस्थाको भूमिका र क्षेत्रीय विकासका चुनौतीमाथि गहिरो विमर्श गरिएको थियो।
नागरिक घोषणापत्रमा लोकतन्त्रको रक्षा, संविधानको संरक्षण, विधिको शासन सुदृढीकरण, जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, जनतामा निहित सार्वभौम सत्ताको संरक्षण र आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय बनाउन नागरिक समाजले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाइएको छ।
घोषणापत्रले विशेषतः जेन्जी तथा नवयुवालाई राजनीतिक प्रक्रियामा जिम्मेवार, सचेत र रचनात्मक सहभागिताका लागि आह्वान गर्दै विगतका वेथिति दोहोरिन नदिन नागरिक निगरानी र सहकार्यलाई जोड दिएको छ।
नागरिक समाजले वर्तमान विषम राजनीतिक परिवेशमा संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सार्वभौमिकताको रक्षा आजको साझा दायित्व भएको निष्कर्षसहित १७ बुँदे सुदूरपश्चिम नागरिक घोषणापत्र जारी गरेको हो।