सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन नजिकिँदै बैतडीमा तयारी तीव्र

२०८२ पुष २५, १२:१८ खबर संवाददाता

बैतडीः  बैतडीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तिब्र रुपमा थालिएको छ। निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालय बैतडीले मतदाता परिचालन गर्ने लगायतका कार्यहरु तिब्र रुपमा गरिरहेको हो।

जिल्लामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्वाचन आयोग, सुरक्षा निकाय तथा स्थानीय प्रशासनले आवश्यक तयारी अगाडि बढाएका बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य पौडेलले जानकारी दिए। उनले मतदाता शिक्षा, मतदान केन्द्र व्यवस्थापन, सुरक्षाको प्रबन्ध तथा अपाङ्गता भएका र ज्येष्ठ नागरिकमैत्री मतदान केन्द्र निर्माणमा विशेष ध्यान दिइएको बताए। जिल्लाका दुर्गम क्षेत्रसम्म मतदाता सहज रूपमा मतदान गर्न सकून् भन्ने उद्देश्यले भौतिक तथा प्राविधिक तयारीलाई प्राथमिकतामा राखिएको उनको भनाई छ।

राजनीतिक दलहरू पनि निर्वाचनलाई केन्द्रमा राख्दै घरदैलो अभियान, सभासम्मेलन र जन सम्पर्कलाई तीव्र बनाइरहेका छन्। बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन्। जसमध्ये ७८ हजार ९८७ पुरुष र ७७ हजार ३८३ महिला तथा २ जना अन्य मतदाता रहेका निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए। उनले उक्त संख्या अघिल्लो निर्वाचनको तुलनामा बढी रहेको बताए ।

कमेन्ट लोड गर्नुस