सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको श्रीलंकामा पाँच करोडको खानेपानी योजना चार वर्ष सम्म सुचारु भएन

२०७६ साउन २७, ०६:५७ रोशन भट्ट

धनगढी उप–महानगरपालिकाको वडा नम्बर १३ श्रीलंकामा पाँच करोडको लगानीमा निर्माण गरिएको खानेपानी योजना चार वर्ष सम्म सुचारु हुन सकेको छैन्। खानेपानी डिभिजन धनगढीले निर्माण गरेको खानेपानी योजना चार वर्ष सम्म पनि सुचारु नभएको हो। सो क्षेत्रका पाँच सय भन्दा बढी घरधुुरी लाभाम्वीत हुने लक्ष्य सहित निर्माण गरिएको उक्त योजना अहिले आएर अलपत्र परेको हो।

निर्माणमा भएको ढिलासुस्ती तथा खानेपानी संस्थानको लापरवाहीका कारण चार वर्ष सम्म पनि खानेपानी नपाएको स्थानीय माया पुनमगरले बताईन्। २०७२ सालदेखि निर्माण सुरु गरिएको योजनाको लागि आवश्यक पर्ने आधारभुत संरचनाहरुको निर्माण सकिएको भएपनि पानी भने सुचारु भएको छैन। अहिले निर्माण गरिएका संरचनाहरु प्रयोग विहिन भएका छन्।

स्थानीयले निर्माण गरिएको संरचना हेरेर चित्त बुझाउनु पर्ने अवस्था सृजना भएको अर्का स्थानीय गोपाल मल्ल श्रेष्ठले बताए। लामो संघर्ष तथा पटक–पटकको दवावपछि खानेपानी योजना निर्माण भएपनि सुचारु नहुदा स्थानीय अहिले पनि दुषित पानी पिउन बाध्य छन्। अहिले सम्म ट्याङ्कीमा समेत पानी नहालिएको गुनासो स्थानीय रमेश धामीको छ।

डिभिजनले खानेपानी संञ्चालन गर्नको लागि पाँच लाख जम्मा गर्नु पर्ने भनेपछि प्रत्येक घरधुरी बाट १२ सय का दरले रकम उठाइएको थियो। तर स्थानीयले भने कसैसंग १२ सय, कसैसंग १५ सय तथा कसैसंग दुई हजार उठाएको आरोप लगाएका छन्। तर खानेपानी तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष भोजराज भट्टले भने १२ सय नै उठाएको दावी गरे।

उनले हाल सम्म दुई सय ५१ घरधुरीबाट संकलन भएको दुई लाख चार हजार रकम बैंकमा जम्मा गरिएको बताए। उपभोत्ता समितिका अनुसार डिभिजनले नै निर्माण सामाग्रीहरु समयमा उपलब्ध गराउन नसक्दा योजना सुचारु गर्न समय लागेको हो। खानेपानी डिभिजनलाई पटक–पटक आग्रह गर्दा पनि वेवास्ता गरेको आरोप लागेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको केही रमकले समेत खानेपानी योजनाको लागि नाली खनिएको भएपनि उक्त नाली भत्किन सुरु भईसकेको छ। खानेपानी डिभिजनको कारणले गर्दा समयमा पानी सुचारु नभएको वडा नम्बर १३ का वडाध्यक्ष विजयराज जोशीले बताए।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस