राष्ट्र बैंकले ऋणपत्रमार्फत २ खर्ब झिक्दै, आजसम्म १ खर्ब ३० अर्ब झिकिने
काठमाडौँः राष्ट्र बैंकले ऋणपत्रमार्फत बजारबाट आज १० अर्ब रुपैयाँ झिक्न लागेको छ। गत साता सोमबारयता बैंकले १ खर्ब २० अर्ब रुपैयाँ झिकिसकेको छ।
आजसम्म गरेर राष्ट्र बैंकले यो उपकरणमार्फत १ खर्ब ३० अर्ब रुपैयाँ झिक्दै छ। यससँगै राष्ट्र बैंकले करिब एक साताको अवधिमा छैटौंपटक राष्ट्र बैंक ऋणपत्र जारी गरिसकेको छ।
गत साता सोमबार १० वर्षपछि राष्ट्र बैंकले पहिलोपटक ऋणपत्रमार्फत २५ अर्ब रुपैयाँ झिकेको थियो। त्यसयता थप तीनवटा ऋणपत्रमार्फत २५/२५ अर्ब रुपैयाँका दरले १ खर्ब रुपैयाँ झिकिसकेको छ। यस्तै, ऋणपत्रमार्फत बुधबार २० अर्ब झिकिसकेको राष्ट्र बैंकले बिहीबार १० अर्ब रुपैयाँ झिक्नका लागि राष्ट्र बैंक ऋणपत्र जारी भइसकेको छ।
बुधबार जारी भएको ऋणपत्रमा २० अर्बका लागि आवेदन आह्वान गरेकामा ३७ अर्ब ५० करोडका लागि बोलकबोल प्राप्त भएको छ। १७ वटा बैंक तथा वित्तीय संस्थाले ५४ वटा बोलकबोल गरेका थिए। सो ऋणपत्रमा औसत २.७२ प्रतिशत ब्याजदर निर्धारण भएको छ।
बजारमा तरलता तत्काल घट्ने सम्भावना नदेखिएपछि राष्ट्र बैंकले लामो अवधिका लागि पैसा झिकिरहेको हो। यो चरणमा ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिक्ने तयारी रहेको राष्ट्र बैंक स्रोतले बताएको छ।
उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने ६/६ महिनामा ब्याज भुक्तानी हुनेछ भने एक वर्षपछि ऋणपत्रको साँवा भुक्तानी हुनेछ। ऋणपत्रमा राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) ले मात्र खरिद गर्न पाउँछन्।
लगानीकर्ताले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सकिने छ। यो ऋणपत्र धितो राखेर बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न ऋण निकाल्न पाइन्छ।