अभिलेख अनुसार कैलालीका नदीहरुमा ५४ डल्फिन
धनगढीः कैलालीमा यसवर्ष ५४ वटा डल्फिन रहेको अभिलेख भएको छ। डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालसँगको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले यसवर्ष गरेको अध्ययनको क्रममा सो सङ्ख्यामा डल्फिन अभिलेख भएका हुन्।
जसमा विहान १५ वटा र साँझ आठवटा अर्धवयस्क बच्चा देखा परेका थिए। डल्फिन अवलोकन सिजन चलेको बेला गत भदौमा कैलालीस्थित मोहना, पथरैया नदीमा टीकापुर, भजनी क्षेत्रमा अध्ययन गरिएको थियो। स्थानीय समुदायलाई तालिम दिएर उनीहरुको समेत सहभागितामा व्यवस्थित र वैज्ञानिक तरिकाले अध्ययन गरेको कोषको बर्दिया प्रमुख अजित तूम्बाहाम्फेले बताए।
उनका अनुसार जिपिएस समेतको प्रयोग गरेर साँझ–विहान अध्ययन गरिएको थियो। विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन मनसुनभरी कैलालीको नदीमा आउने गरेका छन्। नदीमा जलस्तर कम भएपछि भने पुनः तल्लो तटीय क्षेत्रमा फर्कने गरेका छन्।
विगतमा स्थानीय संरक्षणकर्मीको अध्ययनले ६८ वटासम्म डल्फिन कैलालीमा अभिलेख गरेको थियो। त्यसको तुलनामा यो पटक कम डल्फिन पाइएको प्रमुख तूम्बाहाम्फेले बताए। उनले अब हरेक वर्ष मोहना, पथरैया नदीमा डल्फिनको अध्ययन गर्ने उल्लेख गरे।
स्थानीयस्तरबाट डल्फिन संरक्षणका लागि भइरहेको प्रयास राम्रो रहेको कोषले जनाएको छ। नदी क्षेत्रमा हुने उत्खनन् रोक्न र फोहोरमैलाको उचित व्यवस्थापन गर्नसके अझ राम्रो हुने तूम्बाहाम्फेको भनाइ छ।
कोषले मोहना नदीको कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका लगायत माथिल्लो क्षेत्रमा अध्ययन नगरेको जनाएको छ। मनसुनमा डल्फिन धनगढी उपमहानगरपालिकाको फूलबारीसम्म पुग्नेगरेको सर्वसाधारणले बताउने गरेका छन्। विगतमा डल्फिन त्रिनगर भन्सारमा रहेको पुलमुनि क्षेत्रमा समेत मोहना नदीमा देखिएको डल्फिन संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए।
डल्फिन देखिने विभिन्न अवलोकन क्षेत्रमा अवलोकन विधिबाट अध्ययन गरिएको थियो। यो वर्ष गत वर्षको तुलनामा डल्फिनको बच्चा बढी अभिलेख भएको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए।
उनका अनुसार डल्फिनको सङ्ख्या भने विगत वर्षको तुलनामा केही कम छ। २०७८ सालमा ६२ डल्फिन सूचीकरण भएका थिए। त्यस्तै, २०७९ मा ६८ वटा डल्फिन गणना गरिएको थियो। गतवर्ष ५० वटा डल्फिन अभिलेख भएको ढुङ्गानाको भनाइ छ। डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालले केही वर्षदेखि नै स्थानीय स्तरबाट डल्फिन गणना गर्दैआएको छ।