सुदूर नेपाललाई विश्वसँग जोड्दै

कम्युनिस्ट युवा संगठनका युवाले डडेल्धुरा अस्पतालका अध्यक्ष ओझामाथि कालोमोसो दले

२०८२ पुष २३, ०३:२६ खबर संवाददाता

डडेल्धुरा: नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराले डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि भ्रष्टाचारको आरोप लगाउँदै कालोमोसो दलेको छ। संगठनका नेताहरुले उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेको कम्युनिस्ट युवा संगठनका सुदूरपश्चिम प्रदेश सदस्य दिपक बहादुर ऐरले पुष्टि गरे।  

संगठनले अस्पताल सञ्चालनमा गम्भीर अनियमितता, आर्थिक चलखेल र राजनीतिक हस्तक्षेप भएको आरोप लगाएको छ। कम्युनिस्ट युवा संगठनका डडेल्धुरा जिल्ला अध्यक्ष सहबीरद्धारा हस्ताक्षरित  सार्वजनिक गरिएको विज्ञप्तिमा अध्यक्ष ओझाले स्वास्थ्य उपकरण खरिदमा कमिसनका लागि अनावश्यक उपकरण खरिद प्रक्रिया अघि बढाएको, योग्य जनशक्ति भर्ना नगरी आर्थिक चलखेलका आधारमा कर्मचारी नियुक्ति गरेको तथा अस्पताललाई मदिरा सेवन गर्ने स्थलजस्तो बनाएको आरोप लगाइएको छ।

त्यस्तै, अस्पतालको आय–व्यय विवरण सार्वजनिक नगरेको, सार्वजनिक सुनुवाइ नगरेको, सेवा तथा निर्माणसम्बन्धी काममा आफ्ना आसेपासेलाई ठेक्का दिलाएको, गुणस्तरभन्दा कमिसनलाई प्राथमिकता दिँदै औषधि तथा उपकरण खरिद गरेको आरोप पनि संगठनले लगाएको छ।

कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराका अनुसार पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुधार नआएपछि बाध्य भएर प्रतीकात्मक कारबाहीस्वरूप कालोमोसो दलिएको हो। संगठनले अस्पताललाई राजनीतिक र आर्थिक स्वार्थको केन्द्र नबनाउन चेतावनी दिँदै तत्काल अध्यक्ष ओझालाई पदबाट हटाउन माग गरेको छ।

घटनापछि अस्पताल परिसरमा केही समय तनावको अवस्था सिर्जना भएको थियो। यस विषयमा अध्यक्ष करुणाकर ओझाको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन। 

कमेन्ट लोड गर्नुस