सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्रका डिएसपी कुँवरद्वारा विणेश्वर माविमा अक्षयकोष स्थापना

२०८२ पुष २२, ०१:०७ खबर संवाददाता

बैतडी: बैतडीको पुर्चौंडी नगरपालिका–३ नकालीस्थित विणेश्वर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। विद्यालयको ४७ औँ वार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल ५१ नम्बर गुल्म हेडक्वाटर बैतडीका गुल्मपति तथा सशस्त्र प्रहरी नायव उपरीक्षक जंगबहादुर कुँवरले अक्षयकोष स्थापना गरेका हुन्।

नायव उपरीक्षक कुँवरले आफ्ना बुवा गोविन्द कुँवर र आमा बिर्मा कुँवरको नाममा ५५ हजार ५५५ रुपैयाँ बराबरको अक्षयकोष विद्यालयमा स्थापना गरेको जानकारी दिए। उक्त अक्षयकोषबाट विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक विरेन्द्र कुँवरले बताए।

यसैबीच, विणेश्वर माध्यमिक विद्यालय नकालीको ४७ औँ वार्षिकोत्सव सोमबार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। वार्षिकोत्सव समारोहमा प्रधानाध्यापक कुँवरले विद्यालयको आर्थिक, भौतिक तथा शैक्षिक प्रगति सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

कक्षा १० सम्मको पढाइ हुने यस विद्यालयमा हाल २ सय ३२ जना विद्यार्थी अध्ययनरत छन्। वार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरूलाई पुरस्कारसमेत वितरण गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस