सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुल बनेर पनि सञ्चालन नहुँदा स्थानीयलाई सास्ती

तस्बिर : शेरबहादुर सार्की
तस्बिर : शेरबहादुर सार्की
२०८२ पुष २२, १२:४४ खबर संवाददाता

बाजुरा: बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ र बुढीगङ्गा नगरपालिका–४ को सिमानामा पर्ने बार्जुगाड खोलामा निर्माण सम्पन्न भएको पुल अझै सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा समस्यामा परेका छन्। पुल नखुलेकै कारण खोलो तर्नुपर्दा यहाँका बासिन्दा दैनिक सास्ती भोग्न बाध्य छन्।

बेतालमान्डौ, झाली, पुडावाउला, बानेगाउँ र गुइवन हुँदै आटीचौर सडकखण्डमा सवारीसाधनको सहज आवागमनका लागि २०७६ सालमा साउद एडभेन्चर जेभीले ठेक्का लिएर पुल निर्माण गरेको हो। २०८१ सालमै निर्माण कार्य सम्पन्न भए पनि पुलका दुवै साइडमा ग्याबिन नभरिएकाले अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।

खप्तड छेडेदह गाउँपालिका–३ पुडावाउँलाका विद्यार्थीहरू बुढीगङ्गा नगरपालिका–५ मा रहेको भानोदय माध्यमिक विद्यालयमा अध्ययनका लागि यही खोला पार गरेर जानुपर्ने गर्छन्। बर्खायाममा बार्जुगाड खोला उर्लेर आउने हुँदा आवतजावत झनै जोखिमपूर्ण हुने गरेको स्थानीयको गुनासो छ। पुल नहुँदाकै कारण २०८० असार १० गते खोलामा बगेर एक जनाको ज्यानसमेत गएको थियो।

सरकारले २०७६ असारमा ४५ मिटर लामो पक्की पुल निर्माण सुरु गरेको थियो। पुल निर्माणको जिम्मेवारी पूरा भइसकेकाले अब थप काम आफ्नो दायित्वमा नपर्ने साउद एडभेन्चर जेभीका प्रोप्राइटर ईश्वर साउदले बताए। उनका अनुसार पुल वरिपरि ग्याबिन राख्नुपर्ने काम बाँकी छ।

गत वर्ष करिब २० लाख रुपैयाँ खर्चेर एक साइडको ग्याबिन भरिएको थियो। यस वर्ष पनि सोही हाराहारीको बजेट छुट्याइएको र छिट्टै ठेक्का प्रक्रिया अघि बढाइने भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जगबहादुर थापाले जानकारी दिए। उनले यो वर्ष जसरी पनि पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए।
 

कमेन्ट लोड गर्नुस