डोटीको एक वन समूहमा ३ लाखभन्दा बढी भ्रष्टाचार, अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता
धनगढीः डोटी जिल्लाको के.आई.सिं. गाउँपालिका–२ मा रहेको समाज कल्याण जनजागृत सामुदायिक वन उपभोक्ता समितिमा आर्थिक अनियमितता भएको पाइएको छ। सामुदायिक वनको काठ बिक्रीबाट बैंकमा जम्मा गरिएको रकम समितिका अध्यक्ष र केही सदस्यहरूले मिलेमतोमा झिकेर दुरुपयोग गरेको उजुरीका आधारमा अनुसन्धान हुँदा ३ लाख १ हजार ९९६ रुपैयाँ बराबरको भ्रष्टाचार भएको पुष्टि भएको हो।
अनुसन्धानका क्रममा समितिले वृक्षारोपणका लागि ६७ हजार ५०० रुपैयाँ बराबरका बिरुवा खरिद गरेको दाबी गरे पनि सोको वास्तविक प्रमाण नदेखिएको, बिल भुक्तानीमा समेत शंका लाग्ने विवरण फेला परेको छ। अनुगमन गर्दा वृक्षारोपण गरिएको भनिएको स्थानमा बिरुवा नरहेको देखिएको छ।
त्यसैगरी, ३ महिनाको सिलाइ–कटाइ तालिम सञ्चालन गरेको भन्दै ८ जना सहभागीलाई प्रतिव्यक्ति २९ हजार ३१२ रुपैयाँ भुक्तानी गरिएको कागजात पेश गरिएको थियो। तर एउटै भरपाईको फरक–फरक प्रमाणित प्रतिलिपि डिभिजन वन कार्यालय डोटी र उपभोक्ता समितिबाट पेश भएको पाइएकोले ती कागजात नक्कली भएको ठहर गरिएको छ।
यस्तै, तालिममा सहभागी देखाइएका केही व्यक्तिहरू सोही अवधिमा फरक स्थानमा घोरेटो बाटो निर्माण कार्यमा समेत संलग्न देखिएको, भौगोलिक दूरी र समयका हिसाबले एकै समयमा दुवै काममा सहभागी हुन नसक्ने अवस्था रहेको अनुसन्धानबाट खुलेको छ। यसरी नचलाइएको तालिम र नभएको कामको नाममा झुट्टा कागजात तयार गरी रकम हिनामिना गरिएको निष्कर्ष निकालिएको छ।
उक्त प्रकरणमा समाज कल्याण जनजागृत सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर पुन मगर, सचिव तारा देवी साउँद र कोषाध्यक्ष दिलबहादुर साउँदविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कसूर कायम गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। अभियोगमा बिगो बराबर जरिवाना, कैद तथा बिगो असुल उपर गर्न माग गरिएको छ।