रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ
धनगढी: टीकापुर हत्याकाण्डमा तीनै तहका अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। करिब दुई वर्षदेखि सुनुवाइ हुन नसकेको उक्त रिटका लागि आज पेसी तोकिएको हो।
रेशम चौधरीले आममाफी पाएको भोलिपल्ट, अर्थात् २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। सो रिटमा २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकार प्रदान गरेको थियो।
सरकारका विभिन्न निकायले साउन ८ भित्रै सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरे पनि त्यसपछि अहिलेसम्म मुद्दाको सुनुवाइ हुन सकेको छैन। कारण देखाऊ आदेश जारी भएको दुई वर्ष बितिसक्दा पनि मुद्दाले सुनुवाइको पालो नपाएको हो।
यसअघि दुई पटक इजलासमा पुगेको यो मुद्दा २०८० पुस १६ गते एक पटक स्थगित भएको थियो। त्यसको एक वर्षपछि, २०८१ माघ २७ गते सुनुवाइका लागि पेसी तोकिए पनि बेन्च नबस्दा सुनुवाइ हुन सकेन। अब पुनः मङ्सिर २५ गतेका लागि पेसी तोकिएको छ।
यद्यपि सो दिन सुनुवाइ हुन्छ वा हुँदैन भन्ने विषय अझै अनिश्चित छ। हालसम्म यस मुद्दामा १३ पटक पेसी तोकिइसकेको छ भने २०८१ असार ६ गते साप्ताहिक पेसी सूचीबाट समेत हटाइएको थियो।