सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोकेबजारमा भारतिय पक्षले ट्रेन्च खन्दै, जैविक मार्ग थुनिदै

२०८२ पुष २१, ११:४९ खबर संवाददाता

धनगढीः धनगढीसँग जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजार नजिकैको दशगजाछेउमै भारतीय पक्षले नेपाल सरकारलाई जानकारी नदिई स्काभेटर चलाएर पाँचदेखि छ फिट गहिरो माटोको ट्रेन्च खनेको छ।

ट्रेन्चसँगै सिमेन्टका खम्बा गाडिँदैछन्, तारबार तन्काउने तयारी भइरहेको छ। सीमावर्ती बासिन्दा भन्छन ‘यो ट्रेन्च अब सीमाभन्दा ठूलो समस्या बनेको छ।’ सीमामा खनिएको त्यो गहिरो ट्रेन्चले आज डोकेबजारमा केवल माटो काटिरहेका छैनन। उसले कानुनको मर्यादा, मानवीय संवेदना र जंगलबाट निस्कने निर्दोष वन्यजन्तुको सदियौँदेखिको आवागमन मार्गसमेत एकैचोटि थुनेको छ।

सीमा क्षेत्रमा कुनै पनि देशले अर्को देशको सहमति बिना स्थायी वा अस्थायी संरचना बनाउन नपाउने स्पष्ट कूटनीतिक र अन्तर्राष्ट्रिय कानुनी व्यवस्था छ। नेपाल–भारतबीचको सीमा व्यवस्थापनसम्बन्धी सहमति, द्विपक्षीय संयन्त्र र अन्तर्राष्ट्रिय अभ्यासले पनि सीमामा एकतर्फी संरचना निर्माणलाई निषेध गर्छ।

तर डोकेबजारमा खनिएको ट्रेन्चले ती सबै कानुनी प्रावधानलाई मौन रूपमा उल्लंघन गरिरहेको स्थानीयको गुनासो छ। ‘यो केवल डुबानको कुरा होइन,’ वडा अध्यक्ष तुलसी अर्याल भन्छिन्, ‘यो कानुनको अपमान हो। हामीलाई जानकारी नदिई, सहमति नलिई सीमा खनिनु भनेको नेपाललाई कमजोर ठानिएको संकेत हो।’ उनका अनुसार यसअघि पनि यस्तै ट्रेन्च बनाइएपछि विरोधका कारण भत्काइएको थियो। तर हरेक पटक उस्तै व्यवहार दोहोरिनु सीमावर्ती नागरिकको धैर्यको परीक्षा जस्तै भएको छ।

डोकेबजारको भू–बनावट अनुसार वर्षातको पानी भारततर्फ प्राकृतिक रूपमा बग्ने गर्छ। तर ट्रेन्चले त्यो बहाव थुनिनेछ। ‘बर्खामा यो ट्रेन्च बाँधजस्तै हुन्छ,’ एक स्थानीय किसान भन्छन्, ‘पानी फर्केर हाम्रो खेत, घर र बजारमा पस्छ।’ स्थानीयले ह्युमपाइप राखेर पानीको निकास खुला राख्न सकिने सुझाव दिएका छन्। तर त्यो आवाज अहिलेसम्म सुन्ने कोही देखिएका छैनन्।

यो ट्रेन्चले मानिस मात्र होइन, जंगलका जनावरलाई समेत पीडित बनाएको छ। डोकेबजारसँग जोडिएको भारतीय दुधुवा नेसनल पार्क र नेपालतर्फको वन क्षेत्रबीच वर्षौंदेखि वन्यजन्तुको प्राकृतिक आवागमन हुँदै आएको थियो। चित्तल, बँदेल, बाँघ र कहिलेकाहीँ हात्तीसमेत सीमावर्ती जंगल हुँदै आवतजावत गर्ने गर्थे। तर ट्रेन्च र तारबारले त्यो प्राकृतिक ‘वन्यजन्तु मार्ग’ बन्द गरिदिएको छ।

‘जनावरलाई न नक्सा थाहा हुन्छ, न सीमा,’ वनका कर्मचारी दिनेश यादव भन्छन्, ‘उनीहरू सदियौँदेखि हिँड्दै आएको बाटो अचानक बन्द भयो।’ वन्यजन्तुको बाटो बन्द हुँदा दुईथरी खतरा बढ्ने स्थानीयको चिन्ता छ, एकातिर जनावर घुम्ने ठाउँ नपाएर आक्रामक हुन सक्छन्, अर्कोतिर वैकल्पिक बाटो खोज्दा बस्तीभित्र पस्ने जोखिम बढ्छ।

भारतीय पक्षले चोरी सिकारी र तस्करी नियन्त्रणका लागि ट्रेन्च र तारबार आवश्यक भएको दाबी गरेको छ। भारतीय वन विभागका फरेस्टर सिपी सिंह भन्छन्, ‘यो सरकारी निर्देशनअनुसार गरिएको काम हो।’ तर डोकेबजारका बासिन्दा प्रश्न गर्छन, ‘यदि सुरक्षा नै हो भने, किन कानुन मिचे‌‌‌‌‌? ‘किन हाम्रो बस्ती डुबाउने गरीयो? ‘किन जनावरको बाटो बन्द गरे? सीमामा स्काभेटर चलिरहँदा पनि जिल्ला प्रशासन मौन देखिएको छ। प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले घटनाबारे जानकारी नभएको बताएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले पनि कुनै गुनासो नआएको प्रतिक्रिया दिएका छन्। तर सीमावर्ती बासिन्दा भन्छन, ‘हामी बोलिरहेकै छौं, तर हाम्रो आवाज सुनिँदैन।’
डोकेबजारको आक्रोश विगतका घटनाले अझ गहिरो बनाएको छ । २०७३ फागुन २६ गते आनन्दबजार नजिक सीमामा निर्माण गरिएको कल्भर्ट भारतीय पक्षले भत्काउँदा भएको विवादमा भारतीय प्रहरीले चलाएको गोली लागेर ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो। त्यो घटना अझै न्यायको प्रतीक्षामा छ।

‘गोविन्दको रगतले सीमा अझै भिजेको छ, स्थानीय हरि रेग्मी भन्छन्, ‘त्यसैले आज ट्रेन्च देख्दा डर मात्र होइन, पीडा पनि हुन्छ।’ भारतीय पक्षले गौरीफन्टा नाकाबाट डोकेबजारसम्म करिब दुई किलोमिटर ट्रेन्च र तारबार लगाउने योजना बनाएको स्थानीयले बताएका छन्। यदि त्यो पूरा भयो भने, डोकेबजारमा पानीको बहाव मात्र होइन, जनावरको बाटो र सीमावर्ती नागरिकको भरोसा पनि थुनिनेछ। वर्षा अझै आएको छैन। तर डोकेबजारका मानिस र जंगलका जनावर दुवै अहिले नै असुरक्षित छन्। दशगजामा खनिएको त्यो ट्रेन्च अब माटोको संरचना होइन, यो सीमामा बाँच्नेहरूको मौन पीडाको गहिरो खाडल बनेको छ।


 

कमेन्ट लोड गर्नुस