सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी दुर्घटना न्यूनीकरणका लागि कैलालीका विभिन्न स्थानमा ‘ब्ल्याक स्पट जोन’ बोर्ड स्थापना

२०८२ पुष २०, ०९:४८ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले कैलाली जिल्लाका विभिन्न स्थानमा ‘ब्ल्याक स्पट जोन’ बोर्डहरू स्थापना गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको निर्देशनमा ट्राफिक प्रहरी कार्यालय लम्की मातहतका १० वटा ट्राफिक प्रहरी पोष्टहरूले आ–आफ्नो कार्यक्षेत्रभित्र बढी सवारी दुर्घटना हुने स्थानहरूको पहिचान गरी उक्त बोर्डहरू राखिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक चक्र देउवाका अनुसार ट्राफिक प्रहरी कार्यालय लम्की, अस्थायी ट्राफिक प्रहरी पोष्ट हसुलिया, सुख्खड, फुलबारी, हरिनगर, स्याउले, गोदावरी, गेटा, राजपुर र खानिडाँडामा ब्ल्याक स्पट जोन बोर्ड स्थापना गरिएको छ।

ब्ल्याक स्पट जोन बोर्ड स्थापनासँगै ती स्थानहरूमा सवारी चालक तथा यात्रुहरूलाई सचेत गराई सवारी गति नियन्त्रण, ट्राफिक नियमको पालना तथा आवश्यक सावधानी अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक देउवाले आगामी दिनहरूमा पनि सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, सवारी चेकजाँच तथा अनुगमनलाई थप प्रभावकारी बनाइने जानकारी दिएका छन्।

कमेन्ट लोड गर्नुस