सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा आजदेखि जलपंछी गणना सुरु  

२०८२ पुष १९, ०१:२९ रासस

कञ्चनपुर: सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपंछीको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले कञ्चनपुरमा आजदेखि जलपंछी गणना सुरु गरिएको छ।

नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन)को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा निकुञ्जभित्रका जलाशय, तालतलैया र सिमसार क्षेत्रका साथै निकुञ्ज बाहिरका नदी, ताल तथा सिमसार क्षेत्रमा गणक परिचालन गरिएको छ।

गणनामा बिसिएन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पंछीविद् सङ्घ, कनेक्ट परियोजना, जेडएसएल, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एशोसिएशन तथा कञ्चनपुर पंछी संरक्षण समूहका प्रतिनिधि सहभागी छन्।

नेपाल पंछी संरक्षण सङ्घका वरिष्ठ चरा विज्ञ हिरुलाल डगौराका अनुसार वाइनाकुलर, दूरबिन, क्यामेरा, जिपिएस लगायतका उपकरण प्रयोग गरी २० भन्दा बढी गणकमार्फत जलपंछी गणना भइरहेको छ। हिँडेर पुग्न नसकिने तालतलैया क्षेत्रमा हात्तीको प्रयोग गरी गणना गरिने उनले जानकारी दिए।

उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका शिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी–बढनी ताल, राधापुर सिमसार, झिलमिला तथा रतनपुर सिमसार क्षेत्रमा गणना भइरहेको छ। त्यस्तै, निकुञ्ज बाह्य क्षेत्रमा महाकाली नदी, पुरैनी ताल, बन्दा ताललगायतका सिमसार क्षेत्रमा पनि गणना गरिनेछ।

गणनाका क्रममा जलपंछीका प्रजाति, सङ्ख्या, सम्भावित खतरा, मानव गतिविधि तथा बासस्थानसँग सम्बन्धित समस्याबारे विवरण सङ्कलन गरिनेछ।

हरेक वर्ष जनवरीको पहिलो शनिबारदेखि सुरु हुने जलपंछी गणना यस वर्ष पुस १९ देखि माघ ४ गतेसम्म सञ्चालन हुनेछ। चरा विज्ञ डगौराका अनुसार कञ्चनपुरका सिमसार क्षेत्र जलपंछीका लागि महत्वपूर्ण भए पनि पछिल्ला वर्षहरूमा अतिक्रमण, अवैज्ञानिक माछापालन, नदीजन्य पदार्थको दोहन, प्रदूषण, मानवीय गतिविधि र जलवायु परिवर्तनका कारण बासस्थान सङ्कुचित हुँदै गएको छ।

“पछिल्ला वर्षमा कञ्चनपुरका सिमसार क्षेत्रमा जलपंछीको सङ्ख्या घट्दो क्रममा देखिएको छ,” उनले भने, “विशेषगरी आगन्तुक जलपंछीको आगमनमा उतारचढाव देखिनु बासस्थानको असुरक्षाको परिणाम हो।”
पहिले एउटै तालमा ७० भन्दा बढी प्रजातिका जलपंछी देखिने गरेकामा हाल त्यो सङ्ख्या झण्डै आधाले घटेको उनले उल्लेख गरे।

नेपाल सेन्ट्रल एसियन फ्लाइवेअन्तर्गत पर्ने महत्वपूर्ण देश भएकाले एसिया, युरोप तथा साइबेरियाबाट आउने प्रवासी जलपंछीहरू नेपालका सिमसारमा आश्रित रहने डगौराको भनाइ छ। जलपंछी गणनाले राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा संरक्षण रणनीति तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको छ।
 

कमेन्ट लोड गर्नुस