सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशरथचन्द माविमा पूर्व विद्यार्थीको पहलमा सामूहिक अक्षयकोष स्थापना

२०८२ पुष १६, ०१:२३ खबर संवाददाता

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका–५ सुन्दरखालीमा रहेको दशरथचन्द माध्यमिक विद्यालयमा सामूहिक अक्षयकोष स्थापना गरिएको छ। विद्यालयबाट २०६७ सालमा एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूको सक्रियतामा उक्त अक्षयकोष स्थापना गरिएको हो।

विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दका अनुसार २०६७ सालको ब्याचका पूर्व विद्यार्थीहरूको पहलमा एक लाख बीस हजार एक सय पाँच रुपैयाँ बराबरको सामूहिक अक्षयकोष खडा गरिएको छ। यस अभियानमा सत्र जना पूर्व विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको उनले जानकारी दिए।

दशरथचन्द माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती चन्दको अगुवाइमा गठन भएको पूर्व विद्यार्थी समाजको सक्रियतामा अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ। पूर्व विद्यार्थीहरूले उक्त कोषलाई हरेक वर्ष थप वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

स्थापना गरिएको सामूहिक अक्षयकोषबाट विद्यालयमा अध्ययनरत गरीब, दलित तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराइने प्रधानाध्यापक चन्दले बताए। यसले आर्थिक अवस्थाका कारण पढाइमा समस्या भोगिरहेका विद्यार्थीहरूलाई सहयोग पुग्ने विद्यालयको विश्वास छ।

मंगलबार सम्पन्न विद्यालयको उनान्सत्तरीऔं वार्षिकोत्सवको अवसरमा उक्त सामूहिक अक्षयकोषका बारेमा विद्यालय परिवार र अभिभावकहरूलाई औपचारिक रूपमा जानकारी गराइएको थियो।

वार्षिकोत्सवकै अवसरमा दशरथचन्द नगरपालिका–६ सनकट्टे घर भएका पूर्व विद्यार्थी दीपक नाथले कक्षा पाँचसम्म अध्ययन गर्ने विपन्न विद्यार्थीहरूलाई विद्यालय पोशाक अन्तर्गत स्वीटर वितरण गरेका छन्। यस सहयोगले विपन्न बालबालिकाहरूलाई प्रत्यक्ष राहत पुगेको विद्यालयले जनाएको छ। पूर्व विद्यार्थी नाथले यसअघि पनि समय–समयमा विद्यालयलाई सहयोग गर्दै आएको र त्यसले विद्यार्थीहरूको पठनपाठनमा सहजता आएको प्रधानाध्यापक चन्दले बताए।

सामूहिक अक्षयकोष स्थापनाका लागि सहयोग गर्ने पूर्व विद्यार्थीहरूमा विपिन रावल रहेका छन् जसले सत्ताइस हजार चार सय अस्सी रुपैयाँ सहयोग गरेका छन्। गिरीश चन्दले दश हजार रुपैयाँ, योगेन्द्र साउँदले दश हजार दस रुपैयाँ, जगदीश चन्दले आठ हजार रुपैयाँ, रोहित ताम्राकारले आठ हजार रुपैयाँ र सिर्जना बमले पनि आठ हजार रुपैयाँ सहयोग गरेका छन्।

यसैगरी हरिश चन्दले सात हजार पाँच सय रुपैयाँ, केशव रावलले पाँच हजार पाँच सय पचपन्न रुपैयाँ, पंकज भट्टले पाँच हजार पाँच सय पचपन्न रुपैयाँ, आकाश रावलले पाँच हजार रुपैयाँ, अशोक भट्टले पाँच हजार रुपैयाँ र प्रेमराज भट्टले पाँच हजार पाँच रुपैयाँ सहयोग गरेका छन्।

अक्षयकोषमा ज्योति बोहराले तीन हजार रुपैयाँ, प्रकाश नाथले तीन हजार रुपैयाँ, सुदीप चन्दले तीन हजार रुपैयाँ, राजेन्द्र चन्दले तीन हजार रुपैयाँ तथा प्रकाश चन्द ठकुरीले तीन हजार रुपैयाँ सहयोग गरेको विद्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस