काँग्रेसका लेखक र एनपी साउँदसहित सुपका ३८ जना निर्वाचन आयोगको कालोसूचीमा!
धनगढी: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सुदूरपश्चिमका नेपाली काँग्रेस र नेपाली कम्युनिस्ट पार्टीका ठूला नेताले नै चुनाव लड्न नपाउने भएका छन्। निर्वाचन आयोगको कालोसूचीमा काँग्रेसका रमेश लेखक, नारायण प्रकाश साउँद र बैतडीका नेपाली कम्युनिस्ट पार्टीका नेता नरेन्द्रबहादुर कुँवरसहित ३८ जना आयोगको ‘ब्ल्याक लिस्ट’मा परेका हुन्। उनीहरूले चुनाव खर्च विवरण बुझाएको भए पनि आयोगले कालोसूचीबाट नाम नहटाएको पाइएको छ। ३८ जना मध्ये अधिकांशले निर्वाचन आयोगमा खर्चको विवरण बुझाएको दाबी गरेका छन्। केहीले भने विवरण सार्वजनिक गरेको फोटा तथा कागजपत्र नै सार्वजनिक गरेका छन्।
लेखक, साउँद र कुँवर लगायत सुदूरपश्चिमका ३८ जना निर्वाचन आयोगको कालोसूचीमा परेका छन्। उनीहरू मध्ये रमेश लेखक २०७९ सालको निर्वाचनमा कञ्चनपुर-३ मा काँग्रेसबाट, नारायण प्रकाश साउँद कञ्चनपुर-२ र माओवादी केन्द्रबाट नरेन्द्रबहादुर कुँवर बैतडीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार थिए। लेखक र साउँदले चुनाव जिते पनि कुँवरले एमालेका दामोदर भण्डारीसँग चुनाव हारेका थिए।
निर्वाचन आयोगको कालोसूचीमा पर्नेमा कञ्चनपुरबाट लेखक र साउँदसहित २१ जना, कैलालीबाट पाँच जना र बैतडीबाट उम्मेदवार बनेका आठ जना रहेका छन्।
यी हुन् कालोसूचीमा परेका व्यक्तिहरू
कञ्चनपुर-१ बाट राप्रपाका उम्मेदवार दिल्लीबहादुर शाही, स्वतन्त्र उम्मेदवार खेम सुवेदी, जगतबहादुर सायर, हरिनादेवी भट्ट, रास्वपाका देवराज जोशी र रामकिसन राना कालोसूचीमा परेका छन्।
कञ्चनपुर-२ बाट उम्मेदवार बनेका काँग्रेसका एनपी साउँद, राप्रपाका आशोकबहादुर सिंह, हाम्रो पार्टीका जगदीश अवस्थी, विपी काँग्रेसका वीरबहादुर बोहरा, जनमतका प्रेमसिंह बडाल, स्वतन्त्र विद्यादेवी जोशी कालोसूचीमा परेका छन्।
कञ्चनपुर-३ बाट रमेश लेखक, हाम्रो पार्टीका दुर्गादत्त पाण्डेय, स्वतन्त्र उम्मेदवार बनेका शारदादेवी चन्द, दिपकबहादुर सिंह, शुभाषसिंह धामी, मदन दमाई र रास्वपाका कृष्ण लुहार, स्वतन्त्रकी सुशीलादेवी विष्ट र अम्बादत्त तिवारी निर्वाचन आयोगको कालोसूचीमा परेका हुन्।
कैलाली जिल्लामा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका विजयराजसिंह मयाल, क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका नवीन कुमार बोहरा, क्षेत्रमा नम्बर ४ बाट संघीय समाजवादीका भीमबहादुर थापा मगर, क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेका रामबहादुर सिंह सत्यराज उपाध्याय पनि निर्वाचन आयोगको कालोसूचीमा परेका छन्।
बैतडीबाट कालोसूचीमा परेका आठ जनामा नेकपा माओवादी केन्द्र, हाल नेपाली कम्युनिस्ट पार्टीका नरेन्द्रबहादुर कुँवर, रास्वपाका प्रकाशचन्द्र भट्ट, जनता समाजवादीका आनसिंह भण्डारी, नेश्नलिस्ट पिपुल्स पार्टीका कृष्णबहादुर चन्द, राप्रपा नेपालका हिम्मतबहादुर चन्द, स्वतन्त्र उम्मेदवार बनेका मानसिंह विष्ट, केशवबहादुर चन्द र त्रिलोकबहादुर चन्द कालोसूचीमा परेका छन्।
सुदूरपश्चिमसहित देशभरबाट निर्वाचन खर्च विवरण सार्वजनिक नगरेर कालोसूचीमा परेका एक हजार ८० जनालाई निर्वाचन आयोगले जनही १५/१५ हजार जरिवानासमेत गरेको छ।
निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेदवार भएर तोकिएको समयभित्र निर्वाचन खर्च विवरण आयोगमा नबुझाउने र मतदातामाझ सार्वजनिक नगर्ने दुवै खाले उम्मेदवार आयोगको ‘ब्ल्याक लिस्ट’ मा रहेको जानकारी दिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भएर निर्वाचन खर्च नबुझाउने र बुझाएर पनि सार्वजनिक नगर्ने १ हजार ८० जना उम्मेदवार निर्वाचन आयोगको कालोसूचीमा परेका हुन्। कानुनअनुसार आयोगले गरेको निर्णय नमान्ने त्यस्ता व्यक्ति फागुन २१ को चुनावमा उम्मेदवार हुन नपाउने निर्वाचन आयोगकले जनाएको छ।
निर्वाचन आयोगले २०८० बैशाख ४ गते प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार भएका सबैलाई कानुनबमोजिम तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक गर्न निर्देशन दिएको थियो। उक्त निर्देशनको अवज्ञा गर्ने उम्मेदवारहरू कारबाहीमा परेका हुन्।
निर्वाचन आयोगले तोकिएको समयभित्र निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो। आयोगले तोकेको जरिवाना तिरे पनि विवरण सार्वजनिक नगरेकाहरू अझै कालोसूचीमा नै छन्।
आयोगको कालोसूचीमा परेको समाचार प्रकाशित भएपछि कयौंले सामाजिक सञ्जालबाटै खर्च विवरण सार्वजनिक गरेको प्रमाण र कागजात सार्वजनिक गरेका छन्।