आत्महत्या रोकथामका लागि राज्यप्रणाली लाग्नुर्छ : प्रहरी उपरिक्षक चन्द
कैलालीः कैलालीमा चालु आर्थिक वर्षमा १२२ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत साउन महिनादेखि हालसम्म आत्महत्या गर्ने १३६ जनामध्ये झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या १२२ रहेका छन्। बाँकी १४ जना विष सेवन गरी आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार सिंह अनुसार चालु आर्थिक वर्षमा सबभन्दा बढी आत्महत्या कैलालीमा गरेको देखिन्छ। आवको हालसम्म तथ्याङ्क हेर्दा जिल्ला प्रहरी कार्यालय कैलालीमा ४३ जनाले आत्महत्या गरेको देखिन्छ।
उनका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीमा २८, भजनीमा २३, सुखडमा २०, टीकापुरमा ११ र लम्कीमा ११ जना आत्महत्या गर्नेको तथ्याङ्क रहेका छन्। आत्महत्या गर्नेमा ६२ जना पुरुष, ४१ महिला, नौ बालक, १४ बालिका रहेका छन्। आर्थिक वर्ष २०८१-८२ मा आत्महत्या गर्नेको सङ्ख्या २३५ रहेका छन्। जसमा झुन्डिएर आत्महत्या गर्ने २०४, विष सेवन २८ र हामफाली आत्महत्या गर्ने तीन जना रहेको सूचना अधिकारी सिंहले जानकारी दिए। गत वर्ष आत्महत्या गर्ने पुरुषको सङ्ख्या ११३, महिला ७७, बालक १२ र बालिका ३१ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्दले आत्महत्या गर्नुको मुख्य कारण डिप्रेसन, मोबाइल र सामाजिक सञ्जाल, बेरोजगार, घरझगडा रहेको बताए। समाजमा बढ्दै गइरहेको आत्महत्या रोक्नका लागि समग्र राज्यप्रणाली नै लाग्नुपर्ने उल्लेख गर्दै प्रमुख चन्दले भने, 'प्रहरीका विभिन्न एकाइमार्फत गाउँ, टोल, वडा, नगर स्तरमा समिति बनाएर सचेतनाका कार्यक्रम प्रहरीले गरेका छन्। यत्तिले मात्र पुग्दैन सबै तह, तप्का र सरोकारवाला सङ्घ संस्थाले समन्वय गरेर लाग्नु पर्छ।' बालबालिकाले मोबाइल नपाएका कारणले पनि आत्महत्या गर्ने गरेको पाइएकाले घरपरिवारबाट बालबालिकालाई माया, समय दिनुका साथै मनोपरामर्शको आवश्यकता रहेको जनाइएको छ।