पुस १५ प्रदेशभर विविध संस्कार र परम्परासहित उल्लासपूर्वक मनाइँदै
धनगढी: प्रदेशभरका आज पुस १५ लाई आ–आफ्नै मौलिक सांस्कृतिक तथा परम्परागत तरिकाले उत्साहपूर्वक मनाइरहेका छन्। जाडो यामको चरम समयका रूपमा चिनिने पौष महिनाको मध्यतिर पर्ने यस दिनले सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास गरिन्छ।
विभिन्न समुदाय र भूगोलअनुसार फरक–फरक परम्परा भए पनि आपसी भेटघाट, विशेष खानपान र सांस्कृतिक गतिविधि पुस १५ का साझा विशेषता हुन्।
पुस १५ स्वयं खगोलीय रूपमा शीत अयनान्त (विन्टर सोल्स्टिस) नभए पनि यस मितिले शीत अयनान्तसँग सम्बन्धित सांस्कृतिक महत्व बोकेको छ। खगोलशास्त्रीय रूपमा डिसेम्बर २२/२३ लाई वर्षकै सबैभन्दा छोटो दिन मानिए पनि नेपाली समाजमा भने पुस १५ लाई छोटो दिन र लामो रातको रूपमा बुझ्ने परम्परा रहेको छ। आजदेखि दिन क्रमशः लम्बिँदै जाने र रात छोटिँदै जाने विश्वासका कारण पुस पन्ध्रलाई मौसमी परिवर्तनको सूचक पर्वका रूपमा लिइन्छ।
नेपाली पात्रो अनुसार मध्य डिसेम्बरदेखि मध्य जनवरीसम्म पर्ने पुस महिनालाई वर्षकै सबैभन्दा चिसो महिना मानिन्छ। यही कारणले यस अवधिमा मनाइने पर्व र संस्कारहरू जाडोको चरम अवस्थासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन्।
वर्षकै सबैभन्दा लामो रात मानिने विश्वासका साथ मनाइने यस पर्वमा रातभर जाग्राम बस्ने, मिठा मिठा परिकार खाएर रमाइलो गर्ने तथा सामूहिक रुपमा गाउँखाने कथा र सांस्कृतिक गतिविधि गर्ने चलन संगै सुदूरपश्चिमका पहाडी जिल्लामा पुस १५ गते ‘ठूलीरात’ अर्थात् परम्परागत पुसे पन्ध्र पर्व उल्लासका साथ मनाईन्छ।
पुष महिनाको कठ्याङ्ग्रिने चिसोबाट बच्न ऊर्जा दिने खानाको प्रयोग गर्ने परम्परा यस पर्वसँग जोडिएको छ।
सुदूरपश्चिममा पुसे पन्ध्र
सुदूरपश्चिम प्रदेशमा पुस १५ लाई “पुसे पन्ध्र” नामले चिनिन्छ। गहिरो सांस्कृतिक जरा गाडिएको यस पर्वमा १५ हात लामो दाउरा बालेर आगो वरिपरि बसेर रातभर जाग्राम बस्ने परम्परा छ। आगोको तापसँगै कथा–किस्सा र अनुभव साटासाट गरिन्छ।
पुसे पन्ध्रका दिन बैतडीका गाउँघरमा तरुल, सखरगञ्ज, फर्सी लगायतका कन्दमूलसँगै घिउमा पकाइने सेलरोटी र माँडा विशेष परिकारका रूपमा बनाइन्छ। हुनेहरूले उखु पेलेर रातभर गुड बनाउने, आइना–बातै हाल्ने र गाउँका मानिस एकै घरमा भेला हुने परम्परा पनि रहिआएको छ।
डोटी तथा डडेल्धुुरा जिल्लामा पुसे १५का दिन निसोसे, गतानि डुुब्का, फाउने माँडा, तरुल, सखरगञ्ज लगायतका खानेकुुरा खाइन्छन्। पुस १५ को रातलाई ठूलीरात मानी देउडा खेल्ने, मिठा–मिठा परिकार खाने, धार्मिक ग्रन्थ वाचन गर्ने तथा बिहान उज्यालो नहुँदै स्नान गर्ने चलन छ।
कैलाली कञ्चनपुुरमा पनि रातभर आगो बाल्दै जागरण बस्ने चलन निकै प्रचलित रहिआएको भए पनि आधुनिक जीवनशैली र बदलिँदो सामाजिक संरचनासँगै यस्ता अभ्यासहरू कमजोर बन्दै गएका छन्।
अछाम, बाजाङ र बाजुरा जिल्लामा बिहानैदेखि घर–घरमा खिचडी, भात–दाल, दही, घिउ, सेलरोटी जस्ता परिकार बनाइन्छन्। कतिपय ठाउँमा मासु पनि पकाइन्छ। परिवार र छिमेकी भेला भएर सँगै खाने र पुराना भाकाका देउडा गीत गाउने, नाचगान गर्ने र रमाइलो गर्ने प्रचलन छ।
दार्चुलामा पुसे पन्ध्रमा विवाहित छोरीबेटीलाई माइत बोलाई सम्मानपूर्वक स्वागत गर्ने चलन प्रचलित थियो। अहिले यो परम्परा हराउदै गएको छ।
यस पर्वका अवसरमा प्रदेशका कतिपय स्थानमा वनभोज गर्ने, सामूहिक जमघट गर्ने र रातभर सांस्कृतिक कार्यक्रमहरु पनि सञ्चालन हुुने गर्छन।
कर्णालीमा पुस १५ का उत्सव
कर्णाली प्रदेशको जुम्लामा पुस १५ को विशेष सामाजिक महत्व छ। यस अवसरमा विवाहित छोरीहरू माइतघर फर्केर परिवारसँग पर्व मनाउने परम्परा रहेको छ। घर–घरमा विशेष परिकारहरू पकाइन्छन्, सामूहिक भोजको आयोजना गरिन्छ र रातभरि गीत–संगीत तथा नाचगानको माहोल रहन्छ। भोलिपल्ट पुस १६ मा नजिकका नदी वा मुहानमा स्नान गरेर पर्वको समापन गर्ने चलन छ, जसलाई शुद्धता र नयाँ सुरुवातसँग जोडेर हेरिन्छ।
तमु ल्होसारः गुरुङ समुदायको नयाँ वर्ष
पुस १५ गुरुङ समुदायका लागि विशेष महत्व बोकेको दिन पनि हो। गुरुङ समुदायले यही दिन पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा तमु ल्होसार पर्व मनाउँछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो। गुरुङ समुदायले यस पर्वलाई सांस्कृतिक कार्यक्रम, पारम्परिक भेषभूषा, नृत्य र सामूहिक भोजसहित भव्य रूपमा मनाउने गर्छन्।
यसरी, पुस १५ नेपालका विभिन्न समुदाय र क्षेत्रका लागि फरक–फरक अर्थ र परम्परा बोकेर आएको भए पनि यसले जाडोको कठोर समयमा आपसी एकता, संस्कृतिको संरक्षण र नयाँ समयको प्रतीक्षाको साझा सन्देश दिएको छ।